लुप्रा मुस्ताङ । हिउँचितुवा संरक्षणलाई पाठ्यपुस्तकको ज्ञानमा सीमित नराखी व्यवहारमै उतार्ने उद्देश्यले मुस्ताङको लुप्रा क्षेत्रमा सञ्चालित ‘स्नो लेपर्ड स्काउट्स मोनिटरिङ क्याम्प’ प्रभावकारी बनेको छ। संरक्षण शिक्षामा सहभागी विद्यार्थीले वन्यजन्तु निगरानी, समुदायमा आधारित नेतृत्व र संरक्षणसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा प्रयोग गर्ने अवसर पाएका छन्।
श्री जनहित माध्यमिक विद्यालय जोमसोमको आयोजना, टेका समूह नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) जोमसोम संरक्षण कार्यालयको समन्वय र प्राविधिक सहयोगमा मंसिर ५ गते लुप्रा क्षेत्रमा क्याम्प सञ्चालन गरिएको हो।
कार्यक्रममा संरक्षण शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई हिउँचितुवाको महत्त्व, यसको संरक्षण तथा समुदायको भूमिकाबारे व्यावहारिक सिकाइ प्रदान गरिएको थियो। त्यसैगरी, संरक्षणसम्बन्धी सन्देशमूलक नाटकमार्फत स्थानीय समुदायलाई सचेत गराइएको थियो। नाटकले विद्यार्थीको सिकाइलाई समुदायसम्म पुर्याउँदै संरक्षण अभियानमा स्थानीय सहभागिताको महत्त्व उजागर गरेको आयोजकले जनाएको छ।
हिउँचितुवा संरक्षणमा स्थानीय समुदाय र नयाँ पुस्ताको सहभागिता अपरिहार्य रहेकाले यस्ता कार्यक्रमले विद्यार्थीमा संरक्षणप्रतिको जिम्मेवारी, नेतृत्व क्षमता र व्यवहारिक ज्ञान विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्