‘एक्यापको सहयोगमा प्रहरी चेकपोस्टमा पहिलोपटक प्रविधिको पहरा, आवतजावत गर्ने सवारीसाधन र पर्यटक २४ सै घण्टा निगरानीमा’
जोमसोम, मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको प्रवेशद्वार घाँसामा अब सुरक्षा निगरानी प्रविधिमार्फत गरिने भएको छ। जिल्लाभित्र प्रवेश गर्ने र बाहिरिने सवारीसाधन, पर्यटक तथा सर्वसाधारणको गतिविधिमाथि निगरानी राख्ने उद्देश्यले थासाङ गाउँपालिका–४ घाँसास्थित प्रहरी चेकपोस्टमा दुईवटा सीसी क्यामेरा जडान गरिएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको आर्थिक तथा प्राविधिक सहयोगमा शुक्रबार (कार्तिक २०) गते सीसी क्यामेरा जडान गरिएको हो। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङसँगको समन्वयमा जडान गरिएका क्यामेराले जिल्लाको उत्तरी तथा दक्षिणी दिशाबाट हुने सवारी आवागमन र गतिविधिलाई चौबीसै घण्टा अभिलेखीकरण गर्नेछन्।

स्थानीयबासीहरूको मन जित्न सफल एक्याप जोमसोमका जनमुखी कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार घाँसा चेकपोस्टमा क्यामेरा जडान भएपछि मुस्ताङ भित्रिने र बाहिरिने सवारीसाधनको आवागमनसँगै शंकास्पद गतिविधि पहिचान गर्न सहज हुनेछ। विशेषगरी इन्ट्री र एक्जिट हुने दुवै दिशाका गतिविधि श्रव्यदृश्य रूपमा रेकर्ड हुने भएकाले सुरक्षा व्यवस्थापन, अनुसन्धान तथा निगरानीमा प्रविधिको प्रभावकारी उपयोग हुने अपेक्षा गरिएको छ।

क्यामेराबाट प्राप्त दृश्य तथा अभिलेख अवलोकन गर्ने अधिकार जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई मात्र रहने व्यवस्था गरिएको एक्याप प्रमुख गुप्ताले बताए। यसले सुरक्षा निगरानीलाई व्यवस्थित बनाउनुका साथै आवश्यक परेको समयमा कुनै घटना वा शंकास्पद गतिविधिको अनुसन्धान गर्न प्रमाण जुटाउनसमेत सहयोग पुग्नेछ।

सडक सञ्जाल विस्तार र यातायात सहज भएसँगै मुस्ताङमा बाहिरी जिल्लाबाट प्रवेश गरी आपराधिक गतिविधिमा संलग्न हुने, घटनापछि लुकिछिपी बस्ने तथा मुस्ताङ–डोल्पा मार्ग हुँदै बाहिरिने सम्भावित गतिविधि नियन्त्रण गर्नु सुरक्षा निकायका लागि चुनौती बन्दै आएको छ। यस्तो अवस्थामा प्रवेशद्वारमै सीसी क्यामेरा जडान हुनु सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउने महत्वपूर्ण कदम मानिएको छ।
यसका अतिरिक्त तीव्र गतिमा सवारी चलाउने, ट्राफिक नियम उल्लंघन गर्ने, चोरीशिकार गर्ने तथा अन्नपूर्ण संरक्षण क्षेत्रमा आवश्यक अनुमति नलिई प्रवेश गर्ने विदेशी पर्यटकको गतिविधि नियन्त्रणमा समेत क्यामेराले सहयोग पुर्याउने विश्वास गरिएको छ। चेकपोस्टमा खटिने सुरक्षाकर्मीलाई सवारीसाधनको विवरण अभिलेख राख्न, नियमित चेकजाँच गर्न र शंकास्पद आवागमन पहिचान गर्न पनि प्रविधिले सहज बनाउने अपेक्षा गरिएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने मुस्ताङको प्रवेश नाकामै पहिलोपटक सीसी क्यामेरा जडान हुनुलाई सुरक्षा र संरक्षण व्यवस्थापनमा प्रविधिको प्रयोगतर्फको महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ।

अब यसको प्रभावकारिता नियमित सञ्चालन, अभिलेखको सुरक्षित व्यवस्थापन र सुरक्षा निकायबीचको समन्वयमा निर्भर रहनेछ। प्रवेशद्वारमा प्रविधिको पहरा सुरु भएसँगै सम्भावित अपराध, अवाञ्छित गतिविधि र वन्यजन्तु चोरीशिकार नियन्त्रणमा समेत सकारात्मक परिणाम आउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्