मुस्ताङको निर्वाचन लोकतान्त्रिक अभ्यास हो कि पैसाको किनबेच ? चुनाव आउनासाथ मतदातालाई रकम बाँड्ने, भोजभतेर गराउने, गाडीमा झण्डा ओढाएर पैसा ओसार्ने र शक्ति तथा पहुँचका भरमा मत प्रभावित पार्ने प्रवृत्तिले लोकतन्त्रकै उपहास गरिरहेको छ। पाँच–दश हजार रुपैयाँमा आफ्नो अमूल्य मत बेच्ने मतदाताले पाँच वर्षसम्म विकास र सुशासनको अपेक्षा कसरी गर्ने ? धर्म, नैतिकता र सामाजिक मर्यादाको पाठ पढाउने व्यक्तिहरू नै कथित रूपमा पैसाको चलखेलमा संलग्न भएको आरोप लाग्नु झन् दुःखद छ। शिक्षक, कर्मचारी र सुरक्षा निकायमा आबद्ध व्यक्तिहरू कुनै दल वा उम्मेदवारको पक्षमा खुलेर लागेको आशंका उठ्नु र प्रमाणसहितका गुनासा सार्वजनिक हुँदा पनि निष्पक्ष छानबिन नहुनुले निर्वाचनको विश्वसनीयतामाथि प्रश्न उठाएको छ। निर्वाचन जनताको भविष्य छान्ने अवसर हो, पैसाको बोलीमा प्रतिनिधि किन्ने बजार होइन।
मुस्ताङको अर्को विडम्बना के हो भने यहाँ राजनीतिक योगदान, जनसेवा, इमानदारी र विकासको स्पष्ट दृष्टिकोणभन्दा आर्थिक हैसियत र शक्ति प्रदर्शन उम्मेदवार छनोटको आधार बन्दै गएको गुनासो छ। पार्टीका लागि वर्षौं खटिएका कार्यकर्ता किनारामा पर्छन्, चुनावको मुखमा पैसा खर्च गर्न सक्ने व्यक्ति उम्मेदवार बन्छन्। जिल्लाबाहिरबाट मतदाता ओसार्ने, भोज खुवाउने र आर्थिक प्रलोभनमा पारेर मत प्रभावित गर्ने प्रवृत्तिले स्थानीय जनताको वास्तविक आवाज कमजोर बनाएको छ। निर्वाचन जितेपछि जनप्रतिनिधिको जीवनशैली फेरिन्छ, महँगा गाडी गुड्छन्, सुविधा थपिन्छन्; तर सर्वसाधारणका आधारभूत समस्या जस्ताको तस्तै रहन्छन्। गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, भरपर्दो सडक, खानेपानी, रोजगारी, सञ्चार, कृषि, उद्योग र स्थानीय उत्पादनको बजारीकरणमा अपेक्षित सुधार किन देखिँदैन ? विकासको लाभ आम नागरिकले पाउने कि सीमित व्यक्ति र परिवारले मात्रै ?
यो विकृतिको अन्त्यका लागि मतदाता स्वयं सचेत र जिम्मेवार बन्नुपर्छ। पाँच–दश हजार रुपैयाँको लोभमा पाँच वर्षको भविष्य नसाटौँ। निर्वाचन आयोग, जिल्ला प्रशासन, सुरक्षा निकाय र सम्बन्धित राजनीतिक दलले आचारसंहिता उल्लङ्घन, मतदाता खरिदबिक्री, सरकारी स्रोतसाधनको दुरुपयोग तथा कर्मचारीको दलगत संलग्नताबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ। उम्मेदवारको सम्पत्ति, खर्च र चुनावी आम्दानीको पारदर्शिता सुनिश्चित गरिनुपर्छ। राजनीतिक दलले पैसावाल होइन, जनताप्रति उत्तरदायी, इमानदार र विकासको स्पष्ट योजना भएको नेतृत्व अघि सार्नुपर्छ। अब मुस्ताङलाई गाडीमा पैसा बाँडेर जित्ने प्रतिनिधि होइन, गाउँबस्तीमा विकास पुर्याउने नेतृत्व चाहिएको छ। मत बेचेर नेता धनी बनाउने कि मतको शक्तिले जिल्ला समृद्ध बनाउने ? यो प्रश्नको जवाफ अब मुस्ताङी जनताले आफ्नै विवेकबाट दिनुपर्ने बेला आएको छ।



प्रतिक्रिया दिनुहोस्