२०८३ मंसिर २
९८५७६५०३३४, ९८५७६५००९३

ब्यानर न्यूज > निर्धारित समयअघि नै सम्पन्न ठिनी खोला पुल उद्घाटन, साढे ४ करोडको आयोजना हस्तान्तरण

२०८३ कार्तिक ३० ठिनी, मुस्ताङ। विकास निर्माणका आयोजना निर्धारित समयसीमा नाघ्ने र वर्षौंसम्म अलपत्र पर्ने प्रवृत्तिबीच मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी खोलामा निर्माण सम्पन्न ३५ मिटर लामो मोटरेबल पुलको सोमबार औपचारिक उद्घाटन गरिएको छ। गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण भएको उक्त पुल उद्घाटनसँगै जोमसोम–ठिनी–ढुम्बा–छैरो–मार्फा रिङरोडको यातायात सञ्जाल थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री नन्दप्रसाद न्यौपानेले पुलको उद्घाटन गरेका हुन्। पूर्वाधार विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख रबिन चोख्यालको अध्यक्षतामा सम्पन्न समारोहमा पूर्व प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन, गण्डकी प्रदेशसभा सदस्य विकल शेरचन, पूर्व प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकालीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा दुई वर्षको सम्झौता अवधि बाँकी छँदै पुल निर्माण पूरा गरेपछि निर्माण कम्पनी अमित–अशिष जेभीका प्रोप्राइटर ठेकेदार तथा पूर्व प्रतिनिधि सभा सदस्य बिकास प्रेमी बरिष्ठ समाजसेवी प्रेमप्रसाद तुलाचनलाई पूर्वाधार विकास कार्यालय मुस्ताङले कदरपत्रको साथमा दोसल्ला ओडाएर सम्मान गरेको थियो।

पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत कार्यान्वयन गरिएको आयोजना अमित–अशिष जेभी, थासाङ–३ मुस्ताङले निर्माण गरेको हो। २०८१ वैशाख २९ गते सम्झौता भएको पुल २०८३ वैशाख ४ गते निर्माण सम्पन्न भएको थियो। २३ महिनाको निर्माण अवधि रहेको आयोजना निर्धारित समयभित्रै सम्पन्न हुनु जिल्लाको पूर्वाधार विकासका दृष्टिले उल्लेखनीय उपलब्धि हो। निर्माण सम्पन्न भएको करिब सात महिनापछि पुलको औपचारिक उद्घाटन गरिएको हो।

प्राविधिक रूपमा प्रि-स्ट्रेस्ड आरसीसी टी–गर्डर प्रविधि प्रयोग गरी निर्माण गरिएको पुलमा आरसीसी, ढुङ्गाको गारो तथा ग्याबियन संरचना अपनाइएको छ। आयोजनाको सम्झौता रकम भ्याट तथा पीएससहित ४ करोड ४६ लाख ७० हजार ३४५ रुपैयाँ ५३ पैसा रहेकोमा कुल खर्च ४ करोड २५ लाख ६४ हजार ४७३ रुपैयाँ भएको विवरणमा उल्लेख छ। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको वित्तीय स्रोतबाट निर्माण भएको यस आयोजनाले स्थानीय सडक पूर्वाधारमा महत्वपूर्ण संरचना थपेको छ।

पुल सञ्चालनमा आएसँगै ठिनी, ढुम्बा, छैरो, जोमसोम र मार्फा क्षेत्रलाई जोड्ने रिङरोडको आवागमन थप सहज हुने विश्वास गरिएको छ। यसबाट स्थानीय बासिन्दाको दैनिक यात्रा, कृषि उपजको ओसारपसार, व्यापार व्यवसाय तथा पर्यटकीय गतिविधिमा प्रत्यक्ष लाभ पुग्नेछ। विशेषगरी खोला पार गर्नुपर्ने जोखिम र मौसमी अवरोध न्यूनीकरण हुनुका साथै आपत्कालीन अवस्थामा समेत यातायात सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङ, उपप्रमुख आइतेलाल थकाली, निमित्त प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव नवराज शर्मा, घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थापामगर, पाँचवटै वडाका अध्यक्ष, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दल, निर्माण व्यवसायी, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन पूर्वाधार विकास कार्यालयका प्रशासन प्रमुख शिव पौडेलले गरेका थिए।

निर्माण व्यवसायीले तोकिएको समयसीमाभन्दा अघि नै आयोजना सम्पन्न गर्नु र सार्वजनिक लगानीबाट बनेको संरचना उपयोगमा आउनु सकारात्मक पक्ष हो। तर पूर्वाधारको सफलता उद्घाटन समारोहमा सीमित हुँदैन। यसको गुणस्तर, सुरक्षा, नियमित मर्मतसम्भार र दीर्घकालीन उपयोगले नै वास्तविक उपलब्धि निर्धारण गर्छ।

ठिनी खोला पुलले स्थानीय सडक सञ्जाललाई जोड्नुका साथै आवागमन, पर्यटन र आर्थिक गतिविधिमा नयाँ सम्भावना थपेको छ। सार्वजनिक लगानीको प्रतिफल नागरिकले सहज यातायात र सुरक्षित आवागमनका रूपमा अनुभूत गर्न सके मात्रै यस्तो निर्माणले विकासको सार्थकता प्राप्त गर्नेछ।

दुई वर्षको सम्झौता अवधि बाँकी छँदै पुल निर्माण पूरा गरेपछि निर्माण कम्पनी अमित–अशिष जेभीका प्रोप्राइटर ठेकेदार प्रेमप्रसाद तुलाचनलाई पूर्वाधार विकास कार्यालय मुस्ताङले कदरपत्रसहित सम्मान गरेको छ।

प्रतिक्रिया दिनुहोस्