२०८३ कार्तिक २६
९८५७६५०३३४, ९८५७६५००९३

भवन उभियो, भविष्य ढल्यो : अभिभावक खोज्दै जोमसोमको एकमात्र क्याम्पस

भवन उभियो, भविष्य ढल्यो : अभिभावक खोज्दै जोमसोमको एकमात्र क्याम्पस मुस्ताङको उच्च शिक्षाको भरोसा बन्नुपर्ने तेजनिरला जनहित बहुमुखी क्याम्पस व्यवस्थापकीय कमजोरी, राजनीतिक खिचातानी र शैक्षिक निष्क्रियताको चपेटामा पर्दा अस्तित्वकै संकटमा पुगेको छ।

जोमसोम, मुस्ताङ। हिमाली जिल्ला मुस्ताङको शैक्षिक भविष्य निर्माण गर्ने महत्वपूर्ण आधार बन्नुपर्ने तेजनिरला जनहित बहुमुखी क्याम्पस आज आफैँ अभिभावकविहीनजस्तै बनेको छ। भौतिक संरचना छ, भवन छ, अग्रजहरूको पसिना र योगदानले स्थापित इतिहास छ, तर त्यसअनुसारको शैक्षिक गुणस्तर, दूरदर्शी नेतृत्व र प्रभावकारी व्यवस्थापन देखिँदैन। जिल्लाकै एकमात्र क्याम्पस कालिगण्डकीको बगरमा उभिएको छ, तर यसको शैक्षिक भविष्य भने दिनप्रतिदिन कमजोर बन्दै गएको छ।

कुनै समय मुस्ताङका छोराछोरीले आफ्नै जिल्लामा बसेर उच्च शिक्षा हासिल गर्ने सपना देखेका थिए। स्थानीय अग्रजहरूको अथक प्रयास, आर्थिक तथा सामाजिक योगदान र सामूहिक पहलबाट स्थापना भएको क्याम्पस आज त्यही सपना पूरा गर्न असमर्थजस्तै देखिनु विडम्बनापूर्ण छ। एउटा मात्र व्यवस्थापन अर्थात् कमर्स संकायमा सीमित क्याम्पसले समयअनुसार अन्य संकाय थप्न, शैक्षिक कार्यक्रम विस्तार गर्न र विद्यार्थी आकर्षित गर्न नसक्नु यसको विकासप्रतिको गम्भीर प्रश्न हो। भवन निर्माण हुनु मात्र शैक्षिक विकास होइन, त्यस भवनभित्र गुणस्तरीय शिक्षा र विद्यार्थीको भविष्य निर्माण गर्ने वातावरण पनि हुनुपर्छ।

क्याम्पसको कमजोर अवस्थाको प्रमुख कारणमध्ये प्रभावकारी सञ्चालक समिति र व्यवस्थापनको अभावलाई लिन सकिन्छ। नेतृत्व चयनमा राजनीतिक प्रभाव, आपसी असमझदारी र जिम्मेवारीभन्दा पद प्राप्तिलाई प्राथमिकता दिने प्रवृत्तिले संस्थालाई कमजोर बनाएको भन्ने प्रश्न उठ्नु स्वाभाविक छ। क्याम्पसलाई साँच्चिकै अघि बढाउन सक्ने इच्छाशक्ति, क्षमता र स्पष्ट कार्ययोजना भएका व्यक्तिले नेतृत्व पाउने वातावरण बन्न सकेको छैन। संस्थाको हितभन्दा व्यक्तिगत तथा राजनीतिक स्वार्थ हाबी भए शैक्षिक संस्था कसरी अघि बढ्न सक्छ? यो प्रश्न अहिले मुस्ताङको शैक्षिक वृत्तमा गम्भीर बहसको विषय बन्नुपर्छ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीले परीक्षा दिएपछि कुनै विषयमा अनुत्तीर्ण हुँदा पुनः परीक्षा तथा आवश्यक शैक्षिक प्रक्रियाका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था रहेको गुनासोसमेत सुनिन्छ। यस्तो अवस्थाले विद्यार्थीलाई आर्थिक भार मात्र थपेको छैन, उच्च शिक्षाप्रतिको आकर्षणसमेत कमजोर बनाएको छ। क्याम्पसमा नियमित पठनपाठन, प्रभावकारी प्राध्यापन, आवश्यक विषयगत जनशक्ति र विद्यार्थीमैत्री शैक्षिक वातावरण सुनिश्चित हुन नसके विद्यार्थीले किन यहीँ अध्ययन गर्ने? कामचलाउ शैलीमा संस्था चलाएर गुणस्तरीय शिक्षाको अपेक्षा गर्नु आफैँमा विरोधाभास हो।

यसको प्रत्यक्ष असर मुस्ताङका विद्यार्थी र परिवारले भोगिरहेका छन्। आफ्नै जिल्लामा गुणस्तरीय उच्च शिक्षा उपलब्ध नहुँदा आर्थिक रूपमा कमजोर परिवारका छोराछोरीसमेत पोखरा, काठमाडौंलगायत जिल्ला बाहिरका सहरमा जान बाध्य छन्। हिमाली भूगोल, महँगो यातायात, आवास र दैनिक खर्चका बीच उच्च शिक्षा हासिल गर्नु उनीहरूका लागि सहज छैन। सबै अभिभावकले सन्तानलाई जिल्ला बाहिर पठाउने आर्थिक क्षमता राख्दैनन्। परिणामतः कतिपय विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने सपना आर्थिक अभावकै कारण अधुरो बन्ने जोखिम छ। अर्कोतर्फ, उच्च शिक्षा हासिल गर्न बाहिरिएका युवा जिल्लामा फर्कन आकर्षित नहुनु पनि स्थानीय समाजका लागि दीर्घकालीन चुनौती बन्दै गएको छ।

मुस्ताङको भविष्य पर्यटन, कृषि, व्यापार र पूर्वाधार विकासमा मात्र निर्भर छैन; सक्षम, शिक्षित र दक्ष जनशक्ति उत्पादनमा पनि उत्तिकै निर्भर छ। जिल्लाका युवा बाहिर जाने तर उनीहरूलाई आफ्नै थलोमा फर्केर काम गर्ने वातावरण नबन्ने हो भने गाउँको सामाजिक, आर्थिक र बौद्धिक आधार क्रमशः कमजोर हुँदै जान्छ। गाउँमा विद्यालय रहने, भवन बन्ने तर उच्च शिक्षा हासिल गर्ने आधार कमजोर हुने अवस्था अन्ततः गाउँ रित्तिने प्रक्रियालाई थप बल पुर्‍याउने जोखिम हो। त्यसैले तेजनिरला जनहित बहुमुखी क्याम्पसको संकट एउटा संस्थाको मात्र समस्या होइन, मुस्ताङको भावी पुस्ता र समग्र जिल्लाको भविष्यसँग जोडिएको विषय हो।

अझ विडम्बना त के छ भने निर्वाचनका बेला करोडौँ रुपैयाँ खर्च गरेर जनप्रतिनिधि बन्ने राजनीतिक नेतृत्वले जिल्लाको एकमात्र क्याम्पसको शैक्षिक अवस्था सुधार्न कति चासो देखायो भन्ने प्रश्न अनुत्तरित छ। जिल्लाको विकासका भाषण र प्रतिबद्धतामा शिक्षा प्राथमिकतामा पर्नुपर्ने हो। तर क्याम्पसको शैक्षिक अवस्था कमजोर हुँदै जाँदा जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय सरकार र सरोकारवाला निकायको सक्रियता कहाँ छ? क्याम्पसको समस्या समाधान गर्नु कुनै दल वा व्यक्तिको कृपा होइन, जिल्लाका विद्यार्थीको शैक्षिक अधिकार र स्थानीय समाजप्रतिको जिम्मेवारी हो। विद्यार्थी र अभिभावकले पनि आफ्नो जिल्लाको एकमात्र उच्च शैक्षिक संस्थाको भविष्यबारे आवाज उठाउन आवश्यक छ।

अब क्याम्पसलाई कसले, कसरी र कुन योजनाका साथ पुनर्जीवन दिने भन्ने प्रश्नको जवाफ खोज्न ढिला गर्नु हुँदैन। सक्षम, निष्पक्ष, शैक्षिक दृष्टिकोण भएको र परिणाम देखाउन सक्ने नेतृत्व चयन गरिनुपर्छ। सञ्चालक समितिलाई राजनीतिक भागबन्डाको थलो होइन, शैक्षिक सुधारको जिम्मेवार संस्था बनाउनुपर्छ। विद्यार्थी संख्या वृद्धि, थप संकाय सञ्चालन, योग्य प्राध्यापकको व्यवस्था, नियमित कक्षा, परीक्षा प्रणालीको सहजता, छात्रवृत्ति र हिमाली जिल्लाको आवश्यकताअनुसारका व्यावहारिक तथा रोजगारमुखी शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्पष्ट कार्ययोजना आवश्यक छ। स्थानीय तह, प्रदेश सरकार, विश्वविद्यालय, अभिभावक, पूर्वविद्यार्थी र निजी क्षेत्रबीच सहकार्यको वातावरण बनाउन पनि उत्तिकै जरुरी छ।

तेजनिरला जनहित बहुमुखी क्याम्पस आज बिरामी परेर थला परेको संस्थाजस्तै देखिएको छ। यसको उपचार भवनमा रङरोगन गरेर वा औपचारिक बैठक राखेर सम्भव छैन। आवश्यक छ– इमानदार नेतृत्व, जवाफदेही व्यवस्थापन, गुणस्तरीय अध्यापन र जिल्लाको भविष्यप्रति जिम्मेवार सामूहिक इच्छाशक्ति। अग्रजहरूले दुःख गरेर स्थापना गरेको शैक्षिक धरोहरलाई केही व्यक्तिको स्वार्थ र राजनीतिक खिचातानीका कारण समाप्त हुन दिनु हुँदैन। क्याम्पस बचाउनु भनेको एउटा भवन जोगाउनु होइन, मुस्ताङका हजारौँ विद्यार्थीको सपना, अभिभावकको आशा र जिल्लाको भविष्य जोगाउनु हो। कालिगण्डकीको बगरमा रहेको यो क्याम्पसको बत्ती निभ्नुअघि नै मुस्ताङवासी, जनप्रतिनिधि, राजनीतिक दल, शिक्षाप्रेमी, अभिभावक र विद्यार्थी सबै जाग्न जरुरी छ। आज पनि चासो नदिने हो भने भोलि आफ्नै जिल्लामा उच्च शिक्षा खोज्ने पुस्ताले इतिहासमा क्याम्पस थियो भन्ने मात्र सुन्नुपर्ने अवस्था आउन सक्छ।

प्रतिक्रिया दिनुहोस्