बाढीपहिरोपछि पर्यटक आगमन बढ्दै, मुक्तिनाथमा चहलपहल फर्किँदा माथिल्लो मुस्ताङमा हिमपातको असर
जोमसोम, मुस्ताङ । बाढीपहिरो, सडक अवरोध र प्रतिकूल मौसमका कारण थलिएको मुस्ताङको पर्यटन व्यवसाय विस्तारै पुरानै लयमा फर्किन थालेको छ। वर्षायाममा सडक सञ्जाल अवरुद्ध हुँदा स्वदेशी तथा विदेशी पर्यटकको आगमन घटेर सुनसान बनेका पर्यटकीय क्षेत्रहरूमा पछिल्लो समय चहलपहल बढ्न थालेको हो। विशेषगरी मुक्तिनाथ मन्दिर दर्शनका लागि आउने भारतीय तथा अन्य देशका पर्यटकको संख्या बढेसँगै तल्लो मुस्ताङका होटल, यातायात, घोडा सेवा, पसल तथा पर्यटन व्यवसायमा आशा पलाएको छ। म्याग्दीको भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा आएको बाढीपहिरोले बेनी–जोमसोम सडक प्रभावित बनाएपछि पर्यटन क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको थियो।
भदौ महिनादेखि मुस्ताङमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल निकै न्यून बनेको थियो। महालक्ष्मी पर्वसहितका धार्मिक तथा सांस्कृतिक अवसरमा समेत अपेक्षित पर्यटक आउन सकेनन्। कात्तिक पहिलो सातासम्म दैनिक दुई हजारभन्दा कम पर्यटक मुस्ताङ भित्रिने गरेकोमा सडक यातायात सहज हुँदै गएपछि पछिल्लो समय आगमन बढ्न थालेको छ। घाँसा, अधिनोफाँट तथा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङस्थित प्रवेशद्वारका चेकपोस्टबाट पर्यटकको आगमन तथा प्रस्थान विवरण संकलन हुँदै आएको छ। पर्यटन व्यवसायीले पर्यटकको बढ्दो आवागमनलाई सकारात्मक संकेतका रूपमा लिएका छन्। तर, बाढीपहिरोले पुर्याएको आर्थिक क्षति पूर्ति गर्न पर्यटन व्यवसायलाई अझै सरकारी सहयोग र प्रभावकारी प्रवर्द्धन अभियान आवश्यक रहेको उनीहरूको भनाइ छ।
मुस्ताङको पर्यटनलाई पुनः चलायमान बनाउन सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले बताएका छन्। प्राकृतिक विपत्तिले कृषि र पर्यटन दुवै क्षेत्रमा असर पारेकाले स्थानीय उत्पादनलाई समेत पर्यटनसँग जोड्नुपर्ने उनको सुझाव छ। मुस्ताङमा उत्पादन हुने स्याउलगायत कृषि उपजलाई बजारमा पुनः स्थापित गर्दै होटल तथा पर्यटन व्यवसायमार्फत खपत बढाउन सके स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ। पर्यटन प्रवर्द्धनका लागि सरकारी निकाय, स्थानीय तह, निजी क्षेत्र र व्यवसायीबीच समन्वय गरी पर्यटकलाई मुस्ताङ भ्रमणका लागि आकर्षित गर्ने अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ।
तल्लो मुस्ताङमा पर्यटकको चहलपहल बढ्दै गए पनि माथिल्लो मुस्ताङको धार्मिक तथा पर्यटकीय गन्तव्य दामोदरकुण्ड भने सुनसान बनेको छ। समुद्री सतहबाट करिब चार हजार छ सय २० मिटर उचाइमा रहेको दामोदरकुण्डमा कात्तिक महिनामै बाक्लो हिमपात भएपछि तीर्थयात्री तथा पर्यटकको आवागमन प्रभावित भएको हो। चैतदेखि असोजसम्म स्वदेशी तथा विदेशी तीर्थयात्री पैदल तथा घोडाबाट कुण्ड पुग्ने गरेका थिए। तर, हिमपातसँगै अत्यधिक चिसो बढेपछि पदमार्ग र आवतजावत कठिन बनेको छ। बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फञ्चुक झोङ्गु गुरुङका अनुसार हिमपातका कारण स्थानीयवासीलाई समेत आवतजावत गर्न समस्या भएको छ। जाडोयाम सुरु भएसँगै माथिल्लो क्षेत्रका धर्मशाला तथा बासस्थानसमेत बन्द हुने भएकाले पर्यटकको बसाइ थप असहज बनेको छ।
यस वर्ष दामोदरकुण्डमा करिब सात सय तीर्थयात्री पुगेको अनुमान गरिएको छ। तर, धार्मिक महत्त्व बोकेको यति महत्वपूर्ण गन्तव्यमा पुग्ने तीर्थयात्रीका लागि आवश्यक बास, भोजन र अन्य आधारभूत सुविधा पर्याप्त छैनन्। याराजोराका ६५ वर्षीय डन्डु गुरुङका अनुसार धर्मशालामा निःशुल्क भोजनसहितको व्यवस्था गर्न नसकिएको अवस्था छ। नेपाल सरकारले मुस्ताङ आउने भारतीयसहित तेस्रो देशका पर्यटकबाट दैनिक ५० अमेरिकी डलर र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रवेश शुल्कसमेत लिने गरेको भए पनि माथिल्लो मुस्ताङका दुर्गम पर्यटकीय क्षेत्रमा अपेक्षित सेवासुविधा उपलब्ध हुन नसकेको गुनासो छ। शुल्क संकलनसँगै पर्यटकको सुरक्षा, आवास, खानेपानी, शौचालय र स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ।
मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार मुक्तिनाथ र दामोदरकुण्ड क्षेत्र धार्मिक तथा प्राकृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण छन्। हिमालको काखमा अवस्थित दामोदरकुण्डको धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र हिमाली वातावरणले तीर्थयात्री तथा पर्यटकलाई आकर्षित गर्दै आएको छ। यस क्षेत्रका तीनवटा जलाशय र हिमालबाट बग्ने जलधाराले कालीगण्डकी नदीको उत्पत्तिसँग जोडिएको धार्मिक तथा प्राकृतिक महत्त्व बोकेका छन्। तर, दुर्गम भूगोल, प्रतिकूल मौसम र पूर्वाधार अभावका कारण यहाँ पुग्ने पर्यटकले कठिनाइ भोग्नुपरेको छ। विशेषगरी हिमपातका बेला पदमार्ग बन्द हुँदा वैकल्पिक यातायात तथा उद्धार व्यवस्थाको अभाव थप चुनौती बनेको छ।
तल्लो मुस्ताङमा पर्यटनको चहलपहल फर्किनु सकारात्मक भए पनि माथिल्लो मुस्ताङका दामोदरकुण्डजस्ता महत्वपूर्ण गन्तव्यलाई बेवास्ता गरेर समग्र पर्यटन विकास सम्भव छैन। मुक्तिनाथ, दामोदरकुण्ड, लोमान्थाङ र कोरला क्षेत्रलाई जोडेर एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सडक, पदमार्ग, धर्मशाला, सञ्चार, स्वास्थ्य सेवा र सुरक्षाको भरपर्दो व्यवस्था गर्न आवश्यक छ। पर्यटकबाट प्रवेश तथा भ्रमण शुल्क उठाउने तर उनीहरूलाई आवश्यक आधारभूत सुविधा नदिने प्रवृत्तिको अन्त्य हुनुपर्छ। मुस्ताङको पर्यटनलाई मौसमी चहलपहलमा मात्र सीमित नराखी बाह्रै महिना सञ्चालन गर्न सकिने वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकता बनेको छ।



प्रतिक्रिया दिनुहोस्