लोकतन्त्रमा पत्रकारिताको धर्म प्रशंसा गर्नु मात्र होइन, जनताको हकहितसँग जोडिएका विषयमा प्रश्न उठाउनु पनि हो। राज्यले व्यवस्था गरेका अधिकार नागरिकले पाउनुपर्छ भन्नु कसैको विरोध होइन, सार्वजनिक जिम्मेवारीप्रतिको सचेत आवाज हो। सार्वजनिक सेवामा देखिएका कमजोरी औँल्याउनु व्यक्तिगत असन्तुष्टि होइन, सुधारको अपेक्षा हो। समाचारमा उठेका प्रश्न मन नपर्न सक्छन्, विचार फरक हुन सक्छन्, तर असहमत हुँदैमा तथ्य बदलिँदैनन्। प्रश्न उठाउनेलाई गलत ठहर्याउनुभन्दा उठाइएको विषय सही छ कि छैन भनेर बहस गर्नु नै सभ्य समाजको पहिचान हो। पत्रकारिताको कलम कसैको प्रशंसामा सीमित हुनुपर्छ भन्ने सोचले लोकतन्त्र बलियो हुँदैन।
सार्वजनिक यातायातमा विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत भाडा छुट, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि कानुनले व्यवस्था गरेका सहुलियत कुनै दया, कृपा वा उपहार होइनन्; नागरिकका अधिकार हुन्। यस्ता सुविधा कागजमा सीमित नभई व्यवहारमै कार्यान्वयन हुनुपर्छ। यातायात व्यवसायीको लगानी, श्रम र योगदानको सम्मान हुनुपर्छ भने यात्रुको अधिकार र सुविधाको संरक्षण पनि उत्तिकै आवश्यक छ। व्यवसायको सफलता नाफा र सवारीसाधनको संख्याले मात्र होइन, सेवाको गुणस्तर, पारदर्शिता, उचित भाडा र नागरिकप्रतिको उत्तरदायित्वले मापन हुनुपर्छ। पुरानो अनुभव र नयाँ प्रतिस्पर्धा दुवैलाई सम्मान गर्दै सबै संस्थाले समान नियम पालना गर्नु नै स्वस्थ व्यावसायिक संस्कार हो। पत्रकारिताको स्वतन्त्रता र व्यावसायिक मर्यादा पनि यही निष्पक्षताको जगमा उभिनुपर्छ।
पारिवारिक आत्मीयता, सामाजिक सद्भाव र व्यावसायिक जिम्मेवारी एकअर्काका विरोधी होइनन्। दाजुभाइ, दिदीबहिनी वा आफन्तबीच विचार नमिल्न सक्छ, तर त्यसलाई सम्बन्धमा तिक्तता ल्याउने कारण बनाउनु हुँदैन। तिहारको टीका निधारमा लगाइने रङ मात्र होइन, आपसी विश्वास, सद्भाव र एकताको प्रतीक हो। त्यसैगरी समाचार पनि कसैलाई चोट पुर्याउने माध्यम होइन, समाजलाई सचेत बनाउने ऐना हो। सम्बन्ध जोगाउने नाममा सत्य दबाइनु हुँदैन, व्यवसायको संरक्षण गर्ने नाममा नागरिक अधिकार ओझेल पर्नु हुँदैन र आलोचनालाई शत्रुता ठान्नु हुँदैन। समाचारसँग असहमत हुने स्वतन्त्रता सबैलाई छ, तर जनताको अधिकार सुनिश्चित गर्ने दायित्वबाट कोही विमुख हुन मिल्दैन। सम्बन्ध विश्वासले टिक्छ, व्यवसाय जिम्मेवारीले चल्छ र लोकतन्त्र निर्भीक प्रश्नले बलियो बन्छ।



प्रतिक्रिया दिनुहोस्