२०८३ मंसिर २
९८५७६५०३३४, ९८५७६५००९३

समाचार >सम्झौताअगावै पुल निर्माण, ठेकेदार सम्मानित

कार्ठितिक ३० ठिनी मुस्ताङ। विकास आयोजना वर्षौंसम्म अलपत्र पर्ने प्रवृत्तिबीच मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित ठिनी खोला मोटरेबल पुल निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न भएको छ। दुई वर्षको सम्झौता अवधि बाँकी छँदै पुल निर्माण पूरा गरेपछि निर्माण कम्पनी अमित–अशिष जेभीका प्रोप्राइटर ठेकेदार प्रेमप्रसाद तुलाचनलाई पूर्वाधार विकास कार्यालय मुस्ताङले कदरपत्रसहित सम्मान गरेको छ।

गण्डकी प्रदेश सरकारको बजेटबाट निर्माण भएको ३५ मिटर लामो पुलको लागत ४ करोड २५ लाख ६४ हजार ४६३ रुपैयाँ रहेको छ। हिमाली भूगोल र कठिन निर्माण परिस्थितिका बाबजुद समयसीमाअगावै आयोजना सम्पन्न हुनु सकारात्मक उपलब्धि मानिएको छ।

पुल उद्घाटनका अवसरमा २०८३ कात्तिक ३० गते निर्माण कम्पनीलाई कदरपत्र प्रदान गरिएको हो। कदरपत्रमा पूर्वाधार विकास कार्यालयका प्रमुख रबिन चोख्याल, मन्त्रालयका सचिव नवराज शर्मा तथा मन्त्री एवं प्रमुख अतिथि नन्दप्रसाद न्यौपानेको हस्ताक्षर रहेको छ।

विकास बजेट खर्च गर्नु मात्र उपलब्धि होइन, निर्धारित समयमै गुणस्तरीय संरचना निर्माण गरी नागरिकलाई सुविधा दिनु वास्तविक विकास हो। ठिनी खोला पुल निर्माणले सार्वजनिक आयोजना समयमै सम्पन्न गर्न निर्माण व्यवसायीको प्रतिबद्धता र जिम्मेवार कार्यसम्पादन आवश्यक रहेको सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस्