२०८३ मंसिर ५
९८५७६५०३३४, ९८५७६५००९३

जलवायु संकटविरुद्ध विद्यार्थीको आवाज, वक्तृत्वकलामा किटु थकाली प्रथम

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसमा वक्तृत्वकला प्रतियोगिता; घरपझोङ गाउँपालिकाको आर्थिक सहयोग, जिल्ला बाल सञ्जाल मुस्ताङको आयोजनामा कार्यक्रम

जोमसोम, मुस्ताङ। जलवायु परिवर्तनले हिमाली जनजीवन, वातावरण र बालबालिकाको भविष्यमा पारिरहेको प्रभावबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा मुस्ताङमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

‘माई डे, माई राइट्स, माई फ्युचर’ अर्थात् ‘मेरो दिन, मेरो अधिकार, मेरो भविष्य’ भन्ने अन्तर्राष्ट्रिय नारासँगै ‘जलवायु परिवर्तन : हाम्रो भविष्यको चुनौती’ विषयमा कक्षा ६ देखि ८ सम्मका छात्रछात्राबीच प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा जनहित माध्यमिक विद्यालयकी छात्रा किटु थकाली प्रथम भएकी छन्। सोही विद्यालयका समिर पुन द्वितीय, धौलागिरि माध्यमिक विद्यालयकी ङवाङ ल्हामो गुरुङ तृतीय तथा जनकल्याण आधारभूत विद्यालयकी आशिका माझकोटीले सान्त्वना स्थान हासिल गरेकी छन्।

प्रतियोगिताले जलवायु संकटलाई केवल वातावरणीय समस्या नभई बालअधिकार, सुरक्षित भविष्य र पुस्तान्तरणसँग जोडिएको गम्भीर चुनौतीका रूपमा विद्यार्थीमाझ बहसको विषय बनाएको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा घट्दो हिमपात, वातावरणीय असन्तुलन र प्राकृतिक जोखिम बढिरहेका बेला बालबालिकाको आवाजलाई नीति निर्माण र सामाजिक बहससम्म पुर्‍याउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रम जिल्ला बाल सञ्जाल, मुस्ताङको आयोजनामा तथा घरपझोङ गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो। प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई बधाई दिँदै आयोजकले आगामी दिनमा पनि बालबालिकाको प्रतिभा, नेतृत्व क्षमता र अधिकारसम्बन्धी सचेतना अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्