२०८३ कार्तिक १५
९८५७६५०३३४, ९८५७६५००९३

पहिरोले मुस्ताङका सडक अवरुद्ध, जोमसोम–कागबेनी सडक खुल्यो, छुक्साङमा आवागमन रोक

जोमसोम, मुस्ताङ । लगातारको वर्षाका कारण मुस्ताङको जोमसोम–कोरोला सडकखण्डमा पहिरो खस्दा अवरुद्ध भएको सडक कालीगण्डकी करिडोर सडक कार्यालय मुस्ताङले तत्काल खुलाएको छ। कात्तिक १४ गते बिहान करिब ५ बजे घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक चेकपोस्टबाट करिब एक किलोमिटर अगाडि कागबेनीतर्फ सडक माथिबाट पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।

पहिरोको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर नगरकोटीको कमान्डमा पाँच जनाको प्रहरी टोली परिचालन भएको थियो। प्रहरी, स्थानीय तह र कालीगण्डकी करिडोर सडक कार्यालयबीचको समन्वयमा पहिरो पन्छाएर अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याइएको हो।

यसैबीच, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत छुक्साङ क्षेत्रतर्फ पनि वर्षाका कारण सडक अवरुद्ध भएको छ। वर्षा रोकिएलगत्तै अवरुद्ध सडक खुलाउने तयारी गरिएको भए पनि पहिरोको जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि उक्त क्षेत्रमा सवारीसाधनको आवागमन रोकिएको छ।

लगातारको वर्षासँगै पहिरो खस्ने क्रमले मुस्ताङको सडक यात्रा जोखिमपूर्ण बनेको छ। एउटा सडक खुल्दै गर्दा अर्को क्षेत्रमा अवरोध सिर्जना हुनुले हिमाली जिल्लाको सडक पूर्वाधारको जोखिम उजागर गरेको छ। सडक पूर्ण सुरक्षित भएको सुनिश्चित नभएसम्म सवारी सञ्चालन नगर्नु र यात्रु तथा चालकले सतर्कता अपनाउनु आवश्यक देखिएको प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्