लगातारको वर्षापछि कागबेनीतर्फ सडक माथिबाट पहिरो खस्यो, सडक खुलाउन सुरक्षाकर्मी परिचालन
जोमसोम, मुस्ताङ । लगातार परेको वर्षाका कारण मुस्ताङको जोमसोम–कोरोला सडकखण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। २०८३ कात्तिक १४ गते बिहान करिब ५ बजे घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक चेकपोस्टबाट करिब एक किलोमिटर अगाडि कागबेनीतर्फ सडक माथिबाट पहिरो खसेपछि यातायात आवागमन पूर्ण रूपमा बन्द भएको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार पहिरोका कारण सडक अवरुद्ध भएको सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक कृष्णबहादुर नगरकोटीको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। अवरुद्ध सडक खुलाउने उद्देश्यले प्रहरी टोलीले सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ।

सडक खुलाउन घरपझोङ गाउँपालिका र कालीगण्डकी करिडोरसँग समन्वय गरी आवश्यक पहल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोका कारण सडकमा आवागमन प्रभावित भएपछि यात्रु, स्थानीय बासिन्दा तथा पर्यटकलाई समेत असहजता सिर्जना भएको छ।

हिमाली जिल्लामा वर्षायामपछि पनि लगातारको वर्षाले सडक पूर्वाधारमा जोखिम कायमै रहेको घटनाले मुस्ताङको सडक सुरक्षामाथि पुनः प्रश्न उठाएको छ। विशेषगरी जोमसोम–कोरोला सडक चीनसँगको सीमावर्ती क्षेत्र जोड्ने रणनीतिक तथा पर्यटकीय मार्गसमेत भएकाले यसको अवरोधले स्थानीय आवागमनदेखि पर्यटन र सीमावर्ती क्षेत्रको गतिविधिसम्म प्रभावित पार्न सक्छ।

प्राकृतिक विपद्का बेला सडक खुलाउने कामसँगै जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउनु आवश्यक छ। पहिरो पूर्ण रूपमा पन्छाएर सडक सुरक्षित रहेको सुनिश्चित नभएसम्म यात्रु तथा सवारीसाधनलाई अवरुद्ध क्षेत्रमा प्रवेश नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्