मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधि (साउन १ देखि असोज मसान्तसम्म) मा सम्पादन गरेका विकास निर्माण तथा प्रशासनिक कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ (३) र नियमावली, २०६५ को नियम ३ बमोजिम गाउँपालिकाले उक्त स्वतः प्रकाशन सार्वजनिक गरेको हो।
सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा गाउँपालिकाले कुल ११ लाख ५० हजार ३०१ रुपैयाँ ३६ पैसा राजस्व सङ्कलन गरेको छ। यसअन्तर्गत सबैभन्दा बढी भूमिकर तथा मालपोतबाट २ लाख ७७ हजार ४७ रुपैयाँ, व्यवसाय करबाट २ लाख ४८ हजार २० रुपैयाँ र सिफारिस दस्तुरबाट २ लाख २६ हजार ९ सय रुपैयाँ उठेको छ। वडागत रूपमा गाउँपालिका केन्द्रबाट ४ लाख ५३ हजार १११ रुपैयाँ, वडा नं. १ बाट ३ लाख ३३ हजार १९२ रुपैयाँ, वडा नं. २ बाट १ लाख ८९ हजार ५१ रुपैयाँ र वडा नं. ५ बाट २३ हजार १०३ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
गाउँपालिकाको कुल विनियोजित ४४ करोड ८५ लाख ९४ हजार ५३० रुपैयाँ २८ पैसा बजेटमध्ये पहिलो त्रैमासमा ४ करोड ११ लाख ५० हजार ३८८ रुपैयाँ ९४ पैसा अर्थात् ९.१७ प्रतिशत खर्च भएको छ। चालुतर्फ २४ करोड ६२ लाख ५ हजार रुपैयाँ विनियोजन भएकामा १६.६४ प्रतिशत खर्च भएको छ भने प्रकोप व्यवस्थापनतर्फ १ करोड़ २५ लाख ७१ हजार ७६४ रुपैयाँमा १ लाख ८४ हजार ३१५ रुपैयाँ (१.४७ प्रतिशत) खर्च भएको छ। यद्यपि, १८ करोड ९८ लाख १७ हजार ७६५ रुपैयाँ विनियोजन गरिएको पुँजीगत खर्च शीर्षकमा भने यस त्रैमासमा कुनै पनि रकम खर्च नभएको देखिएको छ। (यो शून्य खर्च हो )।
समीक्षा अवधिमा ७ वटा योजना सम्झौता भई ७ वटै योजनाको कार्यादेश जारी गरिएको छ भने ५ वटा खाता बन्द सिफारिस जारी भएका छन्। स्वास्थ्य क्षेत्रतर्फ, गाउँपालिकाले देशमै पहिलो पटक ‘एमसीएच ह्यान्डबुक’ परियोजनाको कार्य सुरु गरिएको दाबी गरेको छ। साउन र भदौमा भएको अत्यधिक वर्षाबाट सिर्जित विपद्लाई प्रभावकारी रूपमा व्यवस्थापन गरिएको, पोखरा र काठमाडौँमा बस्ने थासाङवासीलाई लक्षित गरी सामाजिक सुरक्षा नवीकरण शिविर सञ्चालन गरिएको, धौलागिरि प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको तथा सेवाग्राहीको सन्तुष्टि मापन गर्न क्युआर कोडसहितको फाराम राखिएको छ।
यस अवधिमा १० जन्म, ५ मृत्यु र ९ विवाहसहित कुल २७ व्यक्तिगत घटना दर्ता भएका छन्, जसमध्ये सबैभन्दा बढी १३ घटना वडा नं. २ मा दर्ता भएका छन्। गाउँपालिकाको स्वीकृत ७० दरबन्दीमध्ये ५३ पदमा पदपूर्ति भएको छ भने १७ पद रिक्त रहेका छन्। गाउँपालिकाले २०८२ माघदेखि आफ्नै स्वामित्वको कोशेली घरबाट दैनिक कामकाज गर्दै आएको र प्रशासकीय भवनको ठेक्का स्वीकृत भई निर्माण कार्य जारी रहेको जनाइएको छ। यस विवरणसम्बन्धी थप जानकारी लिनुपरेमा सूचना अधिकारी अनिल अर्यालसँग मोबाइल नम्बर ९८५७६५०६६१ मा सम्पर्क गर्न सकिनेछ।




प्रतिक्रिया दिनुहोस्