कालोपानी लेते, मुस्ताङ । धवलागिरि प्राविधिक शिक्षालयको ५४ औँ सञ्चालक समिति बैठकले रिक्त दुई पदमा कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। बैठकले बाख्रा गोठालो र फरेस्ट लज एन्ड रेस्टुरेन्टका लागि लज कुक पदमा करार सेवामार्फत कर्मचारी नियुक्त गर्न परिषद्को केन्द्रीय कार्यालयसँग अधिकार प्रत्यायोजनका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
आर्थिक वर्ष २०८३/०८४ को विनियोजित बजेट तथा एलएमबी आईएसमा व्यवस्था भएअनुसार एक जना श्रेणीविहीन बाख्रा गोठालो र सहायकस्तर द्वितीय प्राविधिक पदमा लज कुक नियुक्तिको प्रक्रिया अघि बढाइनेछ। आवश्यक जनशक्ति थपिएसँगै शिक्षालयको दैनिक सञ्चालन, पशुपालनसम्बन्धी व्यावहारिक अभ्यास तथा होटल व्यवस्थापन सम्बन्धी प्राविधिक प्रशिक्षणलाई सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
२०८३ मंसिर ६ गते शनिबार प्रमुख जिल्ला अधिकारी एवं सञ्चालक समिति अध्यक्ष पर्शुराम पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले ५३औँ बैठकका निर्णयको समीक्षा गर्दै शिक्षालयको प्रशासनिक व्यवस्थापन, शैक्षिक गतिविधि तथा सेवा प्रवाहका विषयमा छलफल गरेको थियो। बैठकले नवनियुक्त अध्यक्ष पोखरेललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको थियो।
बैठकमा पूर्व प्रतिनिधिसभा सदस्य एवं संस्थापक सदस्य प्रेमप्रसाद तुलाचन, पूर्व गण्डकी प्रदेशसभा सदस्य एवं सल्लाहकार सदस्य महेन्द्र बहादुर थकाली ,बरिष्ठ पत्रकार तथा सञ्चालक समिति सदस्य भिमबहादुर रसाइली, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी) प्रमुख राजेश कुमार गुप्ता र शिक्षा विकास तथा समन्वय इकाईका सदस्य विरेन्द्र चौधरी सहभागी थिए। शिक्षालयका प्रिन्सिपल तथा सदस्य सचिव खडक बहादुर सुब्बाले बैठकको समन्वय गरेका थिए।
त्यसैगरी आमन्त्रित सदस्यका रूपमा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय जोमसोमका अनुसन्धान अधिकृत विष्णुहरि पण्डित, थासाङ गाउँपालिकाका प्रशासनिक अधिकृत मोतीराम भुजेल, जिल्ला प्रहरी कार्यालय जोमसोमका प्रहरी निरीक्षक सन्तोष बस्याल, थासाङ गाउँपालिका–३ का वडाध्यक्ष हरिप्रसाद गौचन, समाजसेवी चन्द्रबहादुर शेरचन र नरसिंह शेरचन तथा डीएचएम कोर्स को-अर्डिनेटर जयप्रकाश गुरुङको सहभागिता रहेको थियो।



प्रतिक्रिया दिनुहोस्