असोज १९ जोमसोम, मुस्ताङ — सोह्रश्राद्ध सुरु भएसँगै पितृतर्पण तथा श्राद्ध गर्न दैनिक हजारौँ तीर्थालु पुग्ने मुस्ताङको धार्मिक तीर्थस्थल कागबेनी यतिबेला सुनसान बनेको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा अवस्थित कागबेनीमा सोह्रश्राद्धको समयमा देशका विभिन्न भागबाट आउने तीर्थालुको भीड लाग्ने गरे पनि यस वर्ष सडक अवरोधका कारण तीर्थालुको चहलपहल ठप्पप्रायः भएको हो।
विनाशकारी भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण भदौ महिनामै मुस्ताङमा तीर्थालुको आवागमन ह्वात्तै घटेको थियो। त्यसपछि असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाले राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा बाढीपहिरो र नदी कटान निम्त्याएपछि कागबेनीसम्म पुग्ने तीर्थयात्राको मुख्य मार्ग नै अवरुद्ध भएको हो।

सोह्रश्राद्धको समयमा कागबेनीमा कालीगण्डकी नदी किनारमा पितृको सम्झनामा तर्पण तथा श्राद्ध गर्ने धार्मिक परम्परा छ। यही धार्मिक आस्थाका कारण यस अवधिमा कागबेनीमा देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा श्रद्धालु आउने गरेका छन्। तर यस वर्ष सडकको दुरवस्था र ठाउँ–ठाउँमा भएको क्षतिले तीर्थालुको आवागमन प्रभावित हुँदा धार्मिक गतिविधिसँगै स्थानीय होटल, यातायात तथा व्यापार व्यवसायसमेत प्रत्यक्ष मारमा परेको छ।
बाढीपहिरो र नदी कटानका कारण सडकको अवस्था जोखिमपूर्ण बनेपछि निजी तथा सार्वजनिक यातायात सञ्चालनमा समेत समस्या आएको छ। सडक खुलाउने प्रयास भइरहे पनि विभिन्न स्थानमा एकपछि अर्को अवरोध देखिँदा तीर्थालुले सहज रूपमा कागबेनी पुग्ने अवस्था बन्न सकेको छैन। सोह्रश्राद्धकै मुख्य समयमा कागबेनी सुनसान देखिनु मुस्ताङको धार्मिक पर्यटनमा परेको विपद्को प्रत्यक्ष प्रभावका रूपमा स्थानीयले लिएका छन्।
कागबेनीको धार्मिक महत्त्वका कारण सोह्रश्राद्धका बेला यहाँको चहलपहलले समग्र मुस्ताङको पर्यटन र स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउने गरेको थियो। तर यसपटक प्राकृतिक विपद्ले तीर्थयात्राको प्रमुख सिजनमै सडक सम्पर्क कमजोर बनाएपछि कागबेनीमा श्रद्धालुको उपस्थिति न्यून भएको छ। धार्मिक आस्थाको केन्द्र कागबेनीमा सोह्रश्राद्ध सुरु भए पनि तीर्थालुको पाइला रोकिँदा कालीगण्डकी किनार सुनसान बनेको छ।



प्रतिक्रिया दिनुहोस्