“रसुवा–तातोपानी नाका बन्द रहेका बेला कोरला भ्रमण, नाका सञ्चालन र पूर्वाधारबारे अनुगमन”
लोमन्थाङ मुस्ताङ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय उच्चस्तरीय टोली शनिबार उत्तरी कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। रसुवागढी–केरुङ र तातोपानी नाका बन्द रहेका बेला भएको भ्रमणलाई नेपाल–चीन उत्तरी व्यापारिक नाकाको सञ्चालन अवस्था, पूर्वाधार र रणनीतिक महत्वबारे चिनियाँ पक्षको उच्चस्तरीय चासोका रूपमा हेरिएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले राजदूत कोरला नाकाबाट मुस्ताङ प्रवेश गरेको पुष्टि गर्दै सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिइन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार राजदूतसहित चिनियाँ पक्षका पाँच सदस्य र नेपालस्थित चिनियाँ दूतावासका दुई कर्मचारी गरी सात सदस्यीय टोली तीनदिने भ्रमणमा आएको हो। टोली लोमान्थाङस्थित होटल मण्डलामा बसेको छ। भ्रमणका क्रममा जोमसोममा नेपाल–चीन समकक्षीबीच छलफल हुनेछ। होटल सिन्तामणि रिसोर्टमा हुने बैठकमा कोरला नाकाको सञ्चालन अवस्था, देखिएका समस्या, सीमा व्यवस्थापन, नेपालतर्फका पूर्वाधार तथा नाका जोड्ने सडकको अवस्थाबारे छलफल गरिनेछ। बैठकपछि टोली लोमान्थाङ फर्किने र अन्तिम दिन कोरला हुँदै चीनतर्फ जाने कार्यक्रम छ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार कोरला नाकाबाट चिनियाँ राजदूतको उच्चस्तरीय भ्रमण पहिलोपटक भएको हो। नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने, सीमा क्षेत्रको वस्तुस्थिति बुझ्ने तथा पूर्वाधार र व्यापारिक व्यवस्थापनका चुनौती पहिचान गर्ने उद्देश्यले भ्रमण भएको उनले बताए। लामो समयदेखि नाका सञ्चालन र पूर्वाधारका विषयमा उठ्दै आएका प्रश्नबीच भएको भ्रमणलाई स्थानीय तहले समेत महत्वपूर्ण रूपमा लिएको छ।
गत १० भदौमा रसुवाको भोटेकोसीमा आएको बाढीपछि रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द छ भने तातोपानी नाका पनि सञ्चालनमा छैन। दुवै प्रमुख नाका अवरुद्ध भएपछि कोरला नेपाल–चीन व्यापारको वैकल्पिक मार्गका रूपमा थप महत्वपूर्ण बनेको छ। १० भदौयता कोरला नाकाबाट व्यापारिक गतिविधि बढेको र मुस्ताङ भन्सार कार्यालयले दैनिक करिब ३० करोड रुपैयाँको हाराहारीमा राजस्व सङ्कलनमा योगदान गरिरहेको जनाएको छ।
यसले कोरला नाकाको व्यापारिक तथा रणनीतिक भूमिका बढ्दै गएको देखाएको छ।राजदूत माओमिङको भ्रमण कोरला नाकालाई पूर्ण र व्यवस्थित रूपमा सञ्चालन गर्ने, सीमा क्षेत्रका समस्या समाधान गर्ने, नेपालतर्फ निर्माण भएका पूर्वाधार तथा नाका जोड्ने सडकको अवस्था बुझ्ने विषयमा केन्द्रित रहेको जनाइएको छ। प्रमुख उत्तरी नाका बन्द रहेको अवस्थामा भएको यो भ्रमणले कोरला नाकाको दीर्घकालीन सञ्चालन, नेपाल–चीन व्यापार विस्तार र उत्तरी सीमा पूर्वाधार विकासप्रति दुवै पक्षको बढ्दो चासोलाई थप स्पष्ट पारेको छ।



प्रतिक्रिया दिनुहोस्