जोमसोम, मुस्ताङ — असोज ११ गतेदेखि अवरुद्ध ३३ केभी प्रसारण लाइन सञ्चालनको अन्तिम तयारी पूरा भएको छ। नेपाल विद्युत् प्राधिकरणले बाँकी काम सकेर लाइन परीक्षण गर्ने र सफल भए अबको करिब दुई घण्टाभित्र विद्युत् आपूर्ति फर्काउने तयारी गरेको छ।
भारी वर्षासँगै आएको विपद्का कारण म्याग्दी खण्डका दर्जनौँ स्थानमा विद्युत्का पोल ढल्ने, लड्ने, पल्टिने तथा च्यापिने भएपछि प्रसारण लाइन अवरुद्ध भएको थियो। लामो समयसम्म लाइन सञ्चालनमा आउन नसक्दा मुस्ताङसहित प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति ठप्प बनेको हो।
नेपाल विद्युत् प्राधिकरणका केन्द्र प्रमुख हेमराज चापागाईंका अनुसार प्रसारण लाइनको करिब ९५ प्रतिशत मर्मत सम्पन्न भइसकेको छ। क्षतिग्रस्त पोलको मर्मत, स्थानान्तरण र लाइन पुनःस्थापनाको बाँकी काम तीव्र गतिमा भइरहेको छ।
मर्मतलाई छिटो सम्पन्न गर्न दुई स्थानमा प्राविधिक तथा मर्मत टोली एकीकृत रूपमा परिचालन गरिएको छ। अहिले बाँकी काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ।
“३३ केभी लाइनको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ। अहिले दुई ठाउँमा एकीकृत रूपमा काम भइरहेको छ। केहीबेरमै लाइन परीक्षण गर्ने तयारीमा छौँ,” केन्द्र प्रमुख चापागाईंले भने।



प्रतिक्रिया दिनुहोस्