२०८३ भाद्र २८
९८५७६५०३३४, ९८५७६५००९३

रसुवाका बाढीपहिरो पीडितका लागि मार्फा गाउँ समाजको मानवीय हात, १५ लाखभन्दा बढी सहयोग

मुस्ताङ, भदौ २७। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा गाउँ समाजले रु. १५ लाख २७ हजार ६ सय १५ आर्थिक सहयोग गरेको छ।

मार्फा गाउँ समाजले संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २६ गते जम्मा गरिएको हो। जोमसोमस्थित नेपाल बैंक लिमिटेडमा घरपझोङ–२ का वडाध्यक्ष मानबहादुर हिराचन, मार्फा गाउँ समाजका गाउँ मुखिया आइत ज्वारचन र दीपक लालचनमार्फत रकम जम्मा गरिएको गाउँ समाजका प्रमुख आइत ज्वारचनले जानकारी दिए।

विपद्को घडीमा पीडित परिवारसँग ऐक्यबद्धता जनाउँदै मार्फा गाउँ समाज, मार्फा आमा समूह तथा गाउँवासी चन्दादाताको सहभागितामा उक्त रकम संकलन गरिएको हो। सहयोग रकममध्ये मार्फा गाउँ समाजबाट रु. ६ लाख, मार्फा आमा समूहबाट रु. ३ लाख ३ सय र मार्फा गाउँ निवासी विभिन्न चन्दादाताबाट रु. ६ लाख २७ हजार ३ सय १५ संकलन भएको छ।

यसरी स्थानीय तहमा संगठित सामाजिक संस्थादेखि आम नागरिकसम्मको सहभागिताबाट संकलित रु. १५ लाख २७ हजार ६ सय १५ एकमुष्ट रूपमा राहत कोषमा जम्मा गरिएको हो। प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति पुर्‍याएका बेला पीडितको दुःखमा साथ दिन मार्फा गाउँ समाजले आर्थिक सहयोगमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गरेको जनाएको छ।

मार्फा गाउँ समाजको यो सहयोगले मुस्ताङ र रसुवाबीचको मानवीय सम्बन्धलाई समेत थप बलियो बनाएको छ। भौगोलिक रूपमा टाढा भए पनि विपद्मा परेका नागरिकको पीडालाई आफ्नै पीडाका रूपमा लिएर सहयोग जुटाउनु सामाजिक एकता र मानवीय संवेदनाको उदाहरण भएको मार्फा गाउँका स्थानीय बासी दिपक लालचनको भनाइ रहेको छ।

बाढीपहिरोजस्ता प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि राज्यको प्रयाससँगै समुदायस्तरबाट हुने यस्ता सहयोगले पीडित परिवारलाई थप राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्