२०८३ भाद्र १७
९८५७६५०३३४, ९८५७६५००९३

मार्फामा मध्यराति दुई युवाबीच झगडा, दाउ प्रहारबाट एक गम्भीर घाइते

मार्फा मुस्ताङ, १७ भदौ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा मध्यराति दुई युवाबीच भएको विवादले उग्र रूप लिँदा धारिलो हतियार (दाउ) प्रहारबाट एक युवा गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार १५ गते सोमबार राति करिब १२ बजेको समयमा मार्फामा २८ वर्षीय रोशन मगरले सोही स्थानका २८ वर्षीय राजेन्द्र परियारको टाउकोमा दाउ प्रहार गरेका थिए। दाउ प्रहारबाट परियारको टाउकोमा चोट लागेपछि तत्काल स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको थियो।

घटनाको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी निरीक्षक ईश्वर महतको नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइते परियारलाई मार्फा स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि प्रदेश अस्पताल जोमसोम ल्याएको थियो।

प्रहरी निरीक्षक महतका अनुसार प्रदेश अस्पताल जोमसोममा उपचारपछि घाइते परियारलाई थप उपचारका लागि पोखरास्थित मेट्रो–सिटी अस्पताल पठाइएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटनामा संलग्न दुवै युवाले मादक पदार्थ सेवन गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। मादक पदार्थ सेवनपछि उत्पन्न विवादकै क्रममा धारिलो हतियार प्रयोग भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनामा संलग्न रहेको आरोपमा रोशन मगरलाई घटनामा प्रयोग भएको दाउसहित प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको प्रकृति, विवादको कारण तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्