मुस्ताङ, २० भदौ — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि हिमाली जिल्ला मुस्ताङका बासिन्दाले सहयोगको हात बढाएका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी गाउँका स्थानीयवासीले स्वतःस्फूर्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. १ लाख १५ हजार ५९० जम्मा गरेकाहुन्।
भौगोलिक रूपमा दुर्गम भए पनि संकटको समयमा प्रविधिको सदुपयोग गर्दै घमी गाउँका स्थानीय पेमा ढ्याउ गुरुङले शनिबार उक्त रकम प्रधानमन्त्री राहत कोषको क्यूआर कोड (QR Code) मार्फत सोझै अनलाइन भुक्तानी गरेका थिए । राष्ट्रिय विपद्को यस कठिन घडीमा पीडितहरूको घाउमा मलम लगाउन गाउँलेहरू एकजुट भई यो मानवीय पहलकदमी लिएकाे गुरूङले बताए।
गत भदौ १० गते बिहान रसुवाको भोटेकोशीमा आएको आकस्मिक र विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति पुर्यायो। सिंगो देश नै शोकमग्न बनेको अवस्थामा हिमाली भेगका बासिन्दाले पनि विपद्को पीडा महसुस गरेको उनलेे बताए। “कुनै पनि कठिन परिस्थितिमा एक-अर्कालाई सहयोग गर्नु नै नेपालीको मानवीय पहिचान हो,” उनले भने, “यस्तो राष्ट्रिय संकटमा मुलुकभरका नागरिक एकताबद्ध भएर अघि बढ्नुपर्छ।”
मुस्ताङबाट उद्धार र राहतका लागि ऐक्यबद्धता जनाइएको यो पहिलो घटना भने होइन। यसअघि पनि मुस्ताङकै वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरी गाउँका बासिन्दाले बाढीपीडितका लागि रु. १ लाख ९८ हजारभन्दा बढी रकम कोषमा पठाएका थिए । विकट हिमाली बस्तीहरूबाट निरन्तर भइरहेको यो सहयोगले विपद् व्यवस्थापनमा नागरिक स्तरको अग्रसरता र बलियो राष्ट्रिय एकताको सन्देश दिएकाे छ ।





प्रतिक्रिया दिनुहोस्