२०८३ भाद्र १७
९८५७६५०३३४, ९८५७६५००९३

वरिष्ठ समाजसेवी विष्णुराज हिराचनद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहतकोषमा ५ लाख सहयोग

मुस्ताङ, भदौ १६ । हिमालपारीको जिल्ला मुस्ताङका वरिष्ठ समाजसेवी विष्णुराज हिराचनले विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहतकोषमा व्यक्तिगत तर्फबाट ५ लाख रुपैयाँ सहयोग गरेका छन्। भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै हिराचनले राहत तथा पुनःस्थापनाका लागि उक्त रकम प्रदान गरेका हुन्। उनले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

घरपझोङ गाउँपालिका–२ मार्फा निवासी हिराचन मुस्ताङको सामाजिक तथा आर्थिक विकासमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका समाजसेवीका रूपमा परिचित छन्। हरिप्रसाद हिराचनका नाति तथा ओमच्योल्पा हिराचनका सुपुत्र हिराचनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर विपन्न, पछाडि परेका तथा समस्यामा परेका स्थानीय बासिन्दालाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको विवरण स्थानीय स्तरमा रहेको छ। विशेषगरी आयआर्जन, स्वरोजगार तथा सामाजिक उत्थानका क्षेत्रमा उनले पुर्‍याएको सहयोगले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको बताइन्छ।

मुस्ताङको चौतर्फी विकास तथा सामाजिक क्षेत्रमा उनको योगदानलाई स्थानीय वासीले महत्त्वका साथ स्मरण गर्ने गरेका छन्। आर्थिक रूपमा कमजोर परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउनेदेखि समुदायको क्षमता विकास र स्वरोजगार सिर्जनामा सहजीकरण गर्नेसम्मका काममा हिराचनको सक्रियता रहँदै आएको छ। यही सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै उनले पछिल्लो समय देशमा परेको विपद्को पीडामा समेत आफ्नो व्यक्तिगत तर्फबाट सहयोगको हात अघि बढाएका हुन्।

हिराचनले एनआईएमबी बैंक जोमसोम, मुस्ताङमा रहेको आफ्नो खाताबाट चेक नम्बर ३०३३९०३८३०/०५०१ मार्फत रकम झिकेर प्रधानमन्त्री दैवी प्रकोप राहतकोषमा जम्मा गरेका हुन्। उनले पुथाङ बजार, जोमसोम एयरपोर्ट स्थित ग्लोबल आईएमई बैंक जोमसोम शाखा मार्फत नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप राहतकोषको खाता नम्बर ००४०१०१०००००५७ मा ५ लाख रुपैयाँ जम्मा गरेको विवरणमा उल्लेख छ।

विपद्को समयमा राज्यको राहत प्रयासमा नागरिक स्तरबाट हुने सहयोगले पीडित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। हिराचनको यो सहयोगले विपद्मा परेका नागरिकप्रति मानवीय संवेदना र सामाजिक उत्तरदायित्व प्रदर्शन गरेको छ। व्यक्तिगत पहलबाट गरिएको यस्तो सहयोगले समाजका अन्य व्यक्ति तथा संस्थालाई समेत विपद्का बेला पीडितको साथमा उभिन प्रेरणा दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्