कर्णालीमा भूकम्प अहिलेसम्म १५९ को मृत्यु ३३७ घाइते,

 

कार्तिक १९ जोमसोम/आठ वर्षपछि मुलुकले फेरि एकपटक भूकम्पको ठुलो क्षति भोगेको छ । जाजरकोटको रामिडाँडामा गएको शुक्रबार मध्य राति गएको ६.४ म्याग्निच्युटको भुकम्प गएको हो । भुकम्प पछि जाजरकोट र रुकुम पश्चिममा सरकारले युद्धस्तरमा उद्धार, उपचार, राहत र पुनस्र्थापना गर्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँ भूकम्पको क्षति बुझ्न, पीडितका पीडा सुन्न, घाइतेको उद्धार र पीडितको राहतका लागि प्रभावित क्षेत्र पुगेर फर्केका हुन् ।

गृह मन्त्रालयका अनुसार भूकम्पबाट शनिबार सम्म एक सय ५९ को मृत्यु भइसकेको छ भने तीन सय ३७ घाइते भएका छन् । यो समाचार तयार पार्दा सम्म भूकम्पबाट विस्थापित परिवारको तथ्यांक भने संकलन भइसकेको छैन । प्रहरीका अनुसार हालसम्म पश्चिम रुकुममा कम्तीमा दुई हजार र जाजरकोटमा चार हजार घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।

जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पमा परी मृत्यु भएका परिवारलाई सरकारले तत्काल प्रतिपरिवार दुई लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने भएको छ । एकै परिवारको दुईभन्दा धेरै व्यक्तिको मृत्यु भए उक्त परिवारका सदस्यलाई थप एक लाख रुपैयाँ उपलब्ध गराइनेछ । प्रभावित क्षेत्रमा गएका प्रधानमन्त्रीले आइतबार बिहानै मन्त्रिपरिषद् बैठक आह्वान गरेका थिए ।

गृह मन्त्रालयले केन्द्रीय राहत व्यवस्थापन कोषबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुममा पाँच–पाँच करोड रुपैँया पठाउने निर्णय गरेको छ । सोही रकमबाट पीडितलाई राहत रकम वितरण गरिनेछ । राहत रकम सम्बन्धित प्रमुख जिल्ला अधिकारी मार्फत एकद्वार प्रणालीअनुसार वितरण गरिनेछ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुुसार भूकम्पका कारण विस्थापित घरपरिवारका सदस्यलाई भने राहतस्वरूप प्रतिपरिवार १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ । एकै परिवारको पाँचजनाभन्दा धेरै विस्थापित भएको पाइए उक्त परिवारलाई राहतस्वरूप प्रतिपरिवार २० हजार रुपैयाँ रहत रकम उपलब्ध गराइनेछ ।

प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले भूकम्पमा परी मृत्यु भएका परिवारका सदस्यलाई प्रतिपरिवार दुई लाख रुपैयाँ र विस्थापित भएका परिवारलाई १५ हजार रुपैयाँ तत्काल उपलब्ध गराइने बताए । ‘यो समाचार तयार पार्दासम्म एक सय ५७ को मृत्यु भइसकेको छ । घाइते र विस्थापित हुनेको संख्या पनि उत्तिकै छ,’ उनले भने, मृतकका परिवारलाई दुई लाख रुपैयाँ र विस्थापित परिवारलाई १५ हजार रुपैयाँ तत्काल उपलब्ध गराउन रकम पठाउने निर्णय भइसकेको छ । यसका लागि विपत् व्यवस्थापन कोषबाट १० करोड रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।’

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भूकम्पमा परी मृत्यु भएका र घाइतेको विवरण आए पनि धनजनको क्षति विवरण संकलन भइनसकेको बताए । ‘भूकम्पमा परी धेरैको ज्यान गएको छ । घाइते हुने र विस्थापित हुनेको संख्या पनि धेरै छ तर, क्षतिको सम्पूर्ण तथ्य विवरण भने अहिले सम्म आउनसकेको छैन । भण्डारीका अनुसार अहिलेको पहिलो आवश्यकता उद्धार हो । सुरक्षाकर्मी त्यसैमा केन्द्रित छन् । त्यसो हुँदा क्षतिको सम्पूर्ण विवरण आउन अझै केही दिन लाग्न सक्छ ।’ गृहका सूचना अधिकारी उमाकान्त अधिकारीले बैठकले भूकम्प प्रभावितका विषयमा विभिन्न १२ निर्णय लिएको र सोहीअनुसार क्षेत्रगत जिम्मेवारी तोकिएको बताए ।

बैठकले खोज, उद्धार, राहत तथा उपचारलाई पहिलो प्राथमिकता दिने, घाइतेको तत्काल औषधोपचारका लागि आवश्यक औषधि तथा विशेषज्ञ चिकित्सकसहितका जनशक्ति तत्काल परिचालन गर्ने र उपचारका लागि स्वास्थ्य जनशक्ति सुर्खेत, नेपालगन्ज र काठमाडौंमा तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । प्राथमिक राहत व्यवस्थापनका लागि खानपान, अस्थायी आवास आवश्यकताका आधारमा तत्काल वितरण गर्ने सहयोगमा एकद्वार प्रणाली अपनाउने, अवरुद्ध सडक तत्काल खुलाउन सडक विभागले आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

भूकम्पमा परी घाइते भएकाको उद्धारका लागि तीनवटै सुरक्षा संयन्त्रबाट दुई हजार चार सयभन्दा धेरै सुरक्षाकर्मी घटनास्थल खटिएका छन् । गृह मन्त्रालयका अनुसार सबैभन्दा धेरै नेपाली सेनाको सुरक्षाकर्मी घटनास्थलमा खटिएका छन् । सेनाको मात्रै उद्धारका लागि तीनवटा बटालियन खटिएका छन् । एउटा बटालियनमा कम्तीमा तीन सय ५० सुरक्षाकर्मी रहन्छन् । यस आधारमा उद्धारमा सेनाको मात्रै एक हजार ५० सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै, नेपाल प्रहरीको आठ सय ५९ सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले उद्धारमा खटिएका अधिकांश सुरक्षाकर्मी चिकित्सक, नर्स र नियमिततर्फका अन्य सुरक्षाकर्मी रहेको बताए । भूकम्पमा परी घाइेतको उद्धारका लागि सेनाले पाँचवटा हेलिकोप्टर परिचालन गरेको छ । जसमध्ये एक स्काई ट्रक छ । बाँकी एमआई–१७ हेलिकोप्टर रहेको छ । घाइतेलाई सोही हेलिकोप्टरबाट सुर्खेत र नेपालगन्जस्थित अस्पताल लैजाने काम भइरहेको छ ।

आवश्यकता परेको खण्डमा थप सहायता दिन सेनाले अर्को हेलिकोप्टर पनि तयारी अवस्थामा राखेको सैनिक प्रवक्ता सहायक रथी भण्डारीले बताए । सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको इमर्जेन्सी टेलिकम्युनिकेसन क्लस्टर (इटिसी) लाई समेत सक्रिय बनाएको छ । सञ्चारमन्त्री रेखा शर्माको अध्यक्षतामा बसेको बैठकले क्लस्टर सक्रिय बनाउने निर्णय गरेको हो ।

मन्त्रीका सञ्चारविज्ञ नरेन्द्र केसीका अनुसार बैठकले भूकम्प प्रभावित क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा सुरु गर्न सेवा प्रदायकलाई अनुरोध गर्ने र नेपाल दूरसञ्चार प्राधिकरणले सोको समन्वय, अनुगमन र आवश्कयताअनुसार स्रोत परिचालनको व्यवस्थापन गर्ने निर्णय गरेको हो । त्यस्तै, सेवा प्रदायकहरूले सेवालाई प्रभावकारी बनाउन सम्पर्क बिन्दु र सम्पर्क व्यक्ति तोक्ने र निरन्तर सम्पर्कमा रहनेसमेत निर्णय गरेको छ । बैठकमा सञ्चारसचिव कृष्णबहादुर राउत, नेपाल दूरसञ्चार प्राविधिकरण, नेपाल टेलिकम, पत्रकार महासंघलगायत दूरसञ्चार तथा आमसञ्चार क्षेत्रका प्रतिनिधि सहभागी भएका थिए ।

भूकम्पमा परि रुकुम पश्चिममा मात्र ५२ जनाको मृत्यु भएको छ । ८० भन्दा बढी घाइते भएका छन् । मृतकमध्ये ४२ जना आठबिसकोट नगरपालिका र १० जना सानीभेरी गाउँपालिकाका छन् । आठबिसकोटमा मृत्यु हुने ४२ मध्ये २६ जना एकै वडाका छन् । आठबिसकोट नगरपालिकाका मेयर रवि केसीका अनुसार वडा नम्बर १४ मा मात्रै २६ जनाको मृत्यु भएको छ । उता भूकम्पको केन्द्रबिन्दु जाजरकोटमा एक सय ७५ पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६÷४ म्याग्निच्युडको भूकम्पपछि जाजरकोटको क्षेत्रमा ४÷६ म्याग्निच्युडसम्मका एक सय ७५ परकम्प गएका हुन् जसमध्ये चार म्याग्निच्युडभन्दा माथिका पाँच वटा पराकम्प गएका छन् । सबैभन्दा ठूलो पराकम्प ४÷६ म्याग्निच्युडको गएको हो । तीन म्याग्निच्युडसम्मको भूकम्प केन्द्रबिन्दुनजिक रहेका व्यक्तिले महसुस गर्छन् भने चारभन्दा माथिको भूकम्प टाढासम्म पनि महसुस हुन्छ ।

भूकम्प प्रभावित जिल्लाकालागि गण्डकी प्रदेश सरकारको आईतबार बिहान बसेको मन्त्रिपरिषद्कोे बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनकालागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्ने निणर्य गरेको हो । पोखरा महानगरपालिकाले उद्धार, राहत र पुनर्स्थापनाका लागि ५० लाख सहयोग गर्ने भएको छ । मेयर धनराज आचार्यले ५० लाख सहयोगको घोषणा गरेका हुन् । जनप्रतिनिधिले भूकम्प प्रभावितका लागि एक महिनाको पारिश्रमिक पनि दिनेछन् । पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको १ महिनाको पारिश्रमिकबाट सोधभर्ना हुने गरी १३ लाख १५ हजार बराबरको राहत सहयोग पठाइएको आचार्यले बताए । थप सामाग्री र सहयोग महानगरपालिकाको बिपद् कोषबाट खर्च बेहोरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले प्रभावित क्षेत्रमा बस सेवा सहज बनाउन आह्वान गरेका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भूकम्प प्रभावित जिल्लामा यातायात सेवा सहज बनाइने बताउँदै केही बसले आइतबारदेखि नै निःशुल्क सेवा दिने बताएका छन् ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *