मुस्ताङ, १८ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो क्षति पुर्याएर देश शोकमा डुबिरहेका बेला मुस्ताङका एक कृषक परिवारले पीडितको घाउमा मल्हम लगाउने प्रयास गरेको छ।
घरपझोङ गाउँपालिका–५ ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मका सञ्चालक कर्म गुरुङ र उनको परिवारले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ३ लाख १० हजार रुपैयाँ सहयोग गरेका छन्।
गुरुङ परिवारले बिहीबार नेपाल बैंक, जोमसोम शाखा मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गरेको हो। विपद्मा परेका नागरिकलाई राज्यको मात्र नभई हरेक सक्षम नागरिकको पनि साथ आवश्यक पर्ने भन्दै परिवारले आफ्नो तर्फबाट सहयोग गरेको जनाएको छ।
मुस्ताङका कृषक तथा कृषि उद्यमीका रूपमा परिचित गुरुङले प्राकृतिक विपत्तिको पीडा भूगोलले छुट्याउन नसक्ने बताए। उनका अनुसार रसुवामा भएको क्षति रसुवावासीको मात्र नभई सिंगो नेपाली समाजको पीडा हो।
“विपद्को समयमा पीडितको दुःख हेरेर मात्र बस्न सकिँदैन। आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्नु मानवीय दायित्व हो,” गुरुङले भने।
भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकमा रहेका परिवारप्रति समवेदना प्रकट गरेका छन्। विपत्तिबाट प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राख्न उनले सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन्।
मुस्ताङ आफैं बाढी, पहिरो र अन्य प्राकृतिक विपद्को जोखिममा रहेको जिल्ला हो। आफ्नै जिल्लाले विपद्का जोखिम र पीडा भोगिरहेको अवस्थामा पनि गुरुङ परिवारले अर्को जिल्लाका पीडितका लागि गरेको सहयोगले विपद्मा भूगोलभन्दा माथि उठेर मानवीय सम्बन्ध स्थापित गर्न सकिने सन्देश दिएको छ।
कृषि व्यवसायबाट आर्जित आम्दानीको एक हिस्सा संकटमा परेका नागरिकका लागि छुट्याउँदै गुरुङ परिवारले गरेको यो सहयोग रकम भन्दा ठूलो अर्थ बोकेको छ—विपद्को समयमा राज्यसँगै नागरिकको सामाजिक उत्तरदायित्व पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएका छन् ।






प्रतिक्रिया दिनुहोस्