मुस्ताङ। जलवायु परिवर्तनको प्रत्यक्ष मार खेपिरहेको हिमाली जिल्ला मुस्ताङको आवाज अब सिधै विश्वमञ्चमा गुन्जिने भएको छ । स्थानीय तहको अजेन्डालाई अन्तर्राष्ट्रिय नीति निर्माण तहमा जोड्न घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेत यतिबेला टर्कीको अन्टाल्यामा जारी जलवायु सम्मेलन (कोप–३१) मा सहभागी भएका छन्।
गत भदौ ३० र ३१ गते मुस्ताङमै आयोजित ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ मार्फत देशभरका स्थानीय तहहरूको साझा अजेन्डा तयार पारेको गाउँपालिकाले ती निष्कर्षहरूलाई विश्व समुदायसमक्ष पुर्याउन यो कूटनीतिक र नीतिगत पहल थालेको हो। विशेषगरी विकसित राष्ट्रहरूको कार्बन उत्सर्जनका कारण हिमाली क्षेत्रले भोग्नुपरेको संकट र त्यसको क्षतिपूर्तिस्वरूप ‘जलवायु न्याय’ पाउनुपर्ने मुद्दालाई मुस्ताङको टोलीले प्रमुखताका साथ उठाउने तयारी गरेको छ।

गाउँपालिकाका सूचना अधिकारी विकास सञ्ज्यालका अनुसार गत बिहीबार टर्की प्रस्थान गरेका अध्यक्ष लालचन र प्रशासकीय अधिकृत बस्नेतले सोमबारदेखि सुरु भएको सम्मेलनका विभिन्न समूहगत छलफलहरूमा मुस्ताङको वास्तविक अवस्था चित्रण गर्नेछन्।
अध्यक्ष लालचनले जलवायु संकट अब केवल वातावरणीय बहस मात्र नभई हिमाली नागरिकको दैनिक भान्सा र जीविकोपार्जनको गम्भीर सवाल बनिसकेको बताएका छन्। हिमताल फुट्ने जोखिम, बेमौसमी भारी वर्षा, बाढी र पहिरोले सिङ्गो बस्ती नै बगाउन सक्ने खतरा बढेको भन्दै उनले हिमाल, पहाड र तराईको भविष्य जोगाउन अन्तर्राष्ट्रिय समुदायले तत्काल ठोस कदम चाल्नुपर्नेमा जोड दिए।
कृषि, पशुपालन र पर्यटनजस्ता मुस्ताङका मुख्य आर्थिक आधारहरू जलवायु परिवर्तनका कारण धराशायी बन्दै गएको सन्दर्भमा कोप–३१ को सहभागितालाई महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। सम्मेलनबाट प्राप्त अन्तर्राष्ट्रिय अनुभव, प्रविधि र नीतिगत ज्ञानलाई आगामी कार्यपालिका बैठकमा औपचारिक अजेन्डाका रूपमा प्रवेश गराएर स्थानीय स्तरमै अनुकूलनका कार्यक्रमहरू लागू गर्ने गाउँपालिकाको योजना छ।



प्रतिक्रिया दिनुहोस्