२०८३ आश्विन १८
९८५७६५०३३४, ९८५७६५००९३

सडक अवरुद्धले मुस्ताङको स्याउ र पर्यटन संकटमा: अवरोध खुलाउन घरपझोङ गाउँपालिकाको डिजेल सहयोग

मुस्ताङ । एक सातादेखि अवरुद्ध राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक खुलाउने प्रयासमा इन्धनको अभाव भएपछि मुस्ताङको घरपझोङ गाउँपालिकाले आफैं अग्रसरता लिएको छ। सडक बन्द हुँदा मुस्ताङको मुख्य आर्थिक मेरुदण्ड मानिएको स्याउ व्यवसाय र पर्यटन क्षेत्रमा गम्भीर असर पर्दै गएपछि गाउँपालिकाले सडक मर्मत कार्यका लागि डिजेल सहयोग गरेको हो।

गत असोज ११ गतेको बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम—कोरला सडकको ४६ स्थानमा ठुलो क्षति पुर्‍याएको थियो। आयोजनाले काभ्रेभीरदेखि कोरला र ताताेपानीसम्म तथा पर्वततर्फ मालढुंगादेखि गलेश्वरसम्मको सडक सञ्चालनमा ल्याए पनि म्याग्दीको गलेश्वर—पोखरेबगर खण्डमा क्षति अत्याधिक छ। उक्त खण्डमा मर्मतका लागि पर्याप्त उपकरण जुटाइए पनि इन्धनको अभावले कामले गति लिन सकेको थिएन।

यही जटिलतालाई चिर्दै घरपझोङ गाउँपालिकाले बेनी—जोमसोम—कोरला सडक आयोजनालाई आइतबार एक ब्यारेल डिजेल निःशुल्क हस्तान्तरण गरेको छ।

‘विपद्मा सरकारको मात्रै मुख ताक्नु हुँदैन: अध्यक्ष लालचन’

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले सडक अवरुद्ध हुँदा सबैभन्दा ठुलो मार मुस्ताङ जिल्लालाई नै परेको बताएका छन्। सडक बन्द हुँदा पाकेका स्याउहरू बजारसम्म पुर्‍याउन र पर्यटकहरूलाई आवतजावत गर्न ठुलो समस्या सिर्जना भएको उनको भनाइ छ।

अध्यक्ष लालचनले राष्ट्रिय गौरवको यो सडक अवरुद्ध हुँदा सबै क्षेत्र प्रभावित हुने, र विपद्को यस घडीमा सरकारको मात्र मुख ताकी बस्नुको सट्टा सबैले आ-आफ्नो ठाउँबाट समन्वय र सहकार्य गर्नुपर्ने सन्देश दिएका छन्। स्थानीय सरकारको यो समयमै गरिएको पहलले अवरुद्ध सडक छिटो सञ्चालनमा आउने र मुस्ताङको जनजीवन तथा व्यापारिक गतिविधि सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्