तीन ठाउँमा पहिरो, चीनसँगको व्यापार प्रभावित; बेनी–जोमसोम सडकका आधा दर्जन ठाउँमा समेत अवरोध
मुस्ताङ, असोज १० । लगातारको वर्षाले मुस्ताङको उत्तरी सीमाना जोड्ने जोमसोम–कोरला सडकखण्ड फेरि पहिरोको चपेटामा परेको छ। सडकका तीन स्थानमा पहिरो खसेपछि कोरलानाकातर्फ जाने र फर्किने यातायात ठप्प भएको छ। सडक अवरुद्ध हुँदा चीनसँगको आयात–निर्यात प्रभावित भएको छ भने कोरलातर्फ गएका कन्टेनरहरू बाटोमै अलपत्र परेका छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैलेभन्दा माथिको कालोभीर, कागबेनी–ताङ्वे सडकखण्ड र लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीको सेल्फीडाँडामा पहिरो खसेर सडक अवरुद्ध भएको हो। निरन्तर वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने जोखिमसमेत रहेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार घमीस्थित सेल्फीडाँडाको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ। तर चैलेको कालोभीर र कागबेनी–ताङ्वे सडकखण्डमा आवागमन अझै अवरुद्ध छ। कागबेनी–ताङ्वे क्षेत्रमा खसेको पहिरो हटाउन प्रहरी चौकी कागबेनीको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।
सडक अवरुद्ध भएपछि कोरलानाकाबाट हुने चीनसँगको व्यापारमा प्रत्यक्ष असर परेको छ। कोरलातर्फ मालसामान बोकेर गएका र सामान ढुवानी गरी फर्किएका कन्टेनरहरू पहिरो खसेको स्थानमै रोकिएका छन्। सडक कहिले खुल्ने निश्चित नहुँदा व्यवसायी तथा चालकहरू समस्यामा परेका छन्।
रसुवागढी–केरुङ नाका प्रभावित भएपछि पछिल्लो समय चीनसँगको व्यापारिक चाप कोरलानाकातर्फ बढिरहेका बेला सडक अवरोधले उत्तरी नाकाको आपूर्ति प्रणालीमै धक्का दिएको छ। कोरलाबाट भित्रिने कन्टेनर तथा विद्युतीय सवारीसाधनको संख्या बढिरहेका बेला सडकको नियमित अवरोध चुनौती बन्दै गएको छ।
यसैबीच, कागबेनी–मुक्तिनाथ सडकखण्डको खिङ्गामा पनि पहिरो खसेर यातायात अवरुद्ध भएको थियो। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङका अनुसार डोजर परिचालन गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ। तर वर्षा नरोकिएकाले पुनः अवरोध हुनसक्ने जोखिम कायमै छ।
उता, शुक्रबार रातिदेखिको वर्षाले बेनी–जोमसोम सडकखण्डका आधा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार म्याग्दीको सिरुवारी, तातोपानी, रूप्से र पोखरेबगर लगायत अन्य स्थानमा सडक माथिबाट पहिरो खसेको छ।
आयोजनाका अनुसार घाँसा बगरखोल्सामा सडक अवरुद्ध रहेको छ भने काप्रेभीरमा माथिबाट ढुङ्गा खस्ने क्रम जारी छ। निरन्तर वर्षाका कारण सडक खुलाउने कामसमेत जोखिमपूर्ण बनेको आयोजनाले जनाएको छ। बेनीदेखि कोरलासम्मको लामो सडकखण्डमा एकैपटक विभिन्न स्थानमा अवरोध देखिएपछि यातायात सञ्चालन चुनौतीपूर्ण बनेको छ।
पहिरोका कारण चीनबाट पैठारी गरिएका सयौँ विद्युतीय सवारीसाधन जोमसोममै रोकिएका छन्। सडक खुलेपछि मात्र ती सवारीसाधन तल्लो मुस्ताङ तथा अन्य जिल्लातर्फ लैजान सकिने भएकाले अवरोध लम्बिँदा आयातकर्ता र व्यवसायीमाथि थप आर्थिक भार पर्ने अवस्था देखिएको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले वर्षा र पहिरोको जोखिमलाई मध्यनजर गर्दै दिउँसोको समयमा समेत अनावश्यक यातायात नगर्न तथा जोखिमयुक्त सडकमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्रशासनले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन अनुरोध गरेको हो।
कोरला नाका हुँदै व्यापारिक गतिविधि विस्तार भइरहेका बेला त्यसलाई जोड्ने सडक भने वर्षायाममा पटक–पटक पहिरोका कारण अवरुद्ध हुँदै आएको छ। उत्तरी नाकालाई रणनीतिक व्यापारिक मार्गका रूपमा अघि बढाउने सरकारी लक्ष्यसँगै सडकको दिगो स्तरोन्नति, पहिरो नियन्त्रण, जोखिम न्यूनीकरण र वैकल्पिक व्यवस्थापनमा तत्काल ध्यान दिनुपर्ने अवस्था देखिएको छ।



प्रतिक्रिया दिनुहोस्