२०८३ आश्विन १८
९८५७६५०३३४, ९८५७६५००९३

३३ केभी प्रसारण लाइन मर्मत तीव्र, मुस्ताङमा विद्युत् पुनः सञ्चालनको आशा

जोमसोम मुस्ताङ — बाढीपहिरो र प्राकृतिक विपद्का कारण क्षतिग्रस्त ३३ केभी प्रसारण लाइन मर्मत कार्य तीव्र पारिएको छ। नेपाल विद्युत् प्राधिकरण, थापाखोला हाइड्रोपावरलगायतको प्राविधिक टोलीले कोबाङ सबस्टेसनदेखि तातोपानी वितरण केन्द्रसम्मको प्रसारण लाइनमा पेट्रोलिङ गरी क्षतिग्रस्त स्थानको पहिचानसँगै मर्मत कार्य अघि बढाएको हो।

टोलीले कोबाङ सबस्टेसनदेखि तातोपानी वितरण केन्द्रको कार्यालयसम्मको करिब ३३ केभी प्रसारण लाइनको स्थलगत निरीक्षण तथा पेट्रोलिङ सम्पन्न गरी विभिन्न स्थानमा क्षति पुगेका संरचना र लाइनको मर्मत गरेको जनाएको छ। विपद्का कारण प्रसारण संरचनामा व्यापक क्षति पुगेपछि विद्युत् आपूर्ति पुनः सञ्चालन गर्न प्राविधिक टोलीले जोखिमपूर्ण भूगोलमा पुगेर काम गरिरहेको छ।

यसैक्रममा थापाखोला हाइड्रोपावर र प्राविधिक टोलीको सहकार्यमा म्याग्दीको रघुगंगा गाउँपालिकाअन्तर्गत टिप्ल्याङ र बेगखोलाबीचको करिब दुई किलोमिटर क्षेत्रमा क्षतविक्षत भएको ३३ केभी प्रसारण लाइनसमेत मर्मत गरिएको छ। लामो दूरीसम्म प्रसारण लाइनमा क्षति पुगेका कारण विद्युत् आपूर्ति पुनः सञ्चालनमा चुनौती देखिए पनि चरणबद्ध रूपमा मर्मत अघि बढाइएको हो।

मर्मतका क्रममा क्षतिग्रस्त लाइन, पोल तथा अन्य प्रसारण संरचनाको अवस्था पहिचान गरी आवश्यक मर्मतसम्भार गरिएको टोलीले जनाएको छ। अब बाँकी स्थानमा भइरहेको मर्मत कार्य पनि समयमै सम्पन्न भएमा आज बेलुकीसम्म मिलनचोकबाट प्रसारण लाइन चार्ज गर्ने सम्भावना रहेको प्राविधिक टोलीको भनाइ छ।

विद्युत् आपूर्ति पुनः सञ्चालनका लागि एकातर्फ म्याग्दी खण्डमा मर्मत तीव्र पारिएको छ भने अर्कोतर्फ मुस्ताङतर्फका क्षतिग्रस्त संरचनाको मर्मतका लागि थप टोली परिचालन गर्ने तयारी गरिएको छ। प्राविधिक टोलीका अनुसार भोलिदेखि लोमान्थाङ र ‘धे’ क्षेत्रमा समेत पुगेर क्षतिग्रस्त प्रसारण संरचनाको मर्मत कार्य अघि बढाइनेछ।

विपद्ले प्रसारण संरचनामा ठूलो क्षति पुर्‍याए पनि विद्युत् आपूर्ति यथाशीघ्र नियमित गराउन विभिन्न टोली निरन्तर फिल्डमा खटिरहेका छन्। दुर्गम हिमाली भूगोल, सडक अवरोध र कठिन मौसमका बीच भइरहेको मर्मत कार्यलाई समयमै सम्पन्न गर्न स्थानीयवासी तथा सम्बन्धित सबै पक्षको साथ, सहयोग र समन्वय आवश्यक रहेको प्राविधिक टोलीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्