जोमसोम, मुस्ताङ। लैङ्गिक हिंसाविरुद्ध सामाजिक चेतना अभिवृद्धि गर्दै हिंसामुक्त समाज निर्माण गर्ने उद्देश्यसहित मुस्ताङमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको छ।

एकीकृत सेवा कार्यालय मुस्ताङको आयोजनामा बुधबार मंसिर ९ गते अभियानअन्तर्गत जोमसोममा प्रभातफेरी, कोणसभा तथा प्रतिबद्धता हस्ताक्षर कार्यक्रम आयोजना गरिएको हो। आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रमअनुसार सञ्चालन गरिएको अभियानमा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सञ्चार कर्मी ,जनप्रतिनिधि र सरोकारवालाको सहभागिता थियो।

पुथाङ जोमसोम विमानस्थलदेखि जिल्ला प्रशासन कार्यालयसम्म लैङ्गिक हिंसाविरुद्धका विभिन्न सन्देशमूलक नारा लगाउँदै निकालिएको प्रभातफेरीपछि कोणसभा आयोजना गरिएको थियो। कार्यक्रममा घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थापा मगरले लैङ्गिक हिंसा समाजको साझा चुनौती भएकाले यसको अन्त्यका लागि परिवार, समुदाय र राज्यका सबै निकाय जिम्मेवार बन्नुपर्ने बताइन्। हिंसा सहेर बस्ने होइन, त्यसविरुद्ध आवाज उठाउने र पीडितलाई न्यायको पहुँचमा पुर्याउने वातावरण निर्माण गर्नुपर्ने उनको जोड थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले प्रतिबद्धता ब्यानर वाचन गर्दै अभियानको शुभारम्भ गरेकी थिइन्। उनले लैङ्गिक हिंसाविरुद्धका प्रतिबद्धता नारामा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइन्। सोही अवसरमा जिसस प्रमुख गुरुङ, घरपझोङ गाउँपालिका उपाध्यक्ष थापा मगरलगायत सहभागीले प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गर्दै हिंसाविरुद्ध एकजुट हुने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा न्याय अधिवक्ता सुशीला अर्याल र पेरहरी निरीक्षक ईश्वर महतले लैङ्गिक हिंसासम्बन्धी कानुनी व्यवस्था, पीडितका अधिकार, न्याय प्राप्त गर्ने प्रक्रिया र हिंसाविरुद्ध उजुरी गर्ने कानुनी बाटोबारे प्रकाश पारेका थिए। हिंसाका घटनालाई सामाजिक प्रतिष्ठा र पारिवारिक दबाबका नाममा लुकाउने प्रवृत्तिले पीडित थप अन्यायमा पर्ने भएकाले कानुनी सचेतना र संस्थागत सहयोग प्रभावकारी बनाउनुपर्ने उनीहरूको भनाइ रहेको थियो।
एकीकृत सेवा कार्यालय मुस्ताङका कार्यालय प्रमुख निरपति दर्जीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।

१६ दिने अभियानलाई औपचारिक कार्यक्रम र नारामा सीमित नराखी महिला तथा बालबालिकामाथि हुने हिंसा, विभेद, शोषण र दुर्व्यवहारविरुद्ध व्यवहारमै परिणाम देखिने गरी अघि बढाउनुपर्ने सन्देश कार्यक्रमले दिएको छ। हिंसामुक्त समाज निर्माणका लागि प्रतिबद्धता मात्र होइन, प्रभावकारी कार्यान्वयन र पीडितलाई न्याय सुनिश्चित गर्नु आजको आवश्यकता हो। उक्त कार्यक्रम प्रास उपेन्द्र बहादुर बस्नेतले सञ्चालन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्