जोमसोम, मुस्ताङ । विद्यार्थीभित्र लुकेका प्रतिभा उजागर गर्दै सिर्जनशीलता र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिकामा आयोजित पालिकास्तरीय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सोमबार चार विधामा विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको हो।
प्रतियोगिताअन्तर्गत खुला एकल नृत्यतर्फ जनवाल माध्यमिक विद्यालयकी समीक्षा घताने प्रथम, जनहित माध्यमिक विद्यालयकी एन्जोलिना गुरुङ दोस्रो र जनकल्याण आधारभूत विद्यालयकी आशिका माझकोटी तृतीय भए।
एकल गायनतर्फ जनवाल माध्यमिक विद्यालयका सुरज परियारले प्रथम स्थान हासिल गर्दा मुक्ति नमुना आधारभूत विद्यालयकी भूमिका घर्ती मगर दोस्रो र धौलागिरि बोर्डिङ स्कुलका शुभम परियार तेस्रो भए।
त्यसैगरी, चित्रकलातर्फ जनहित माध्यमिक विद्यालयका पेमा छिरिङ गुरुङ प्रथम, धौलागिरि बोर्डिङ स्कुलका रोहित नेपाली दोस्रो र जनवाल माध्यमिक विद्यालयकी दियाना घताने तृतीय बने। ‘नेपालको संविधान र नागरिकको कर्तव्य’ विषयमा आयोजित सिर्जनशील लेखन प्रतियोगितामा जनहित माध्यमिक विद्यालयकी सोनाक्षी झा प्रथम, जनवाल माध्यमिक विद्यालयकी अम्बिका खाती दोस्रो र धौलागिरि बोर्डिङ स्कुलकी रिया कार्की तेस्रो भए।
विद्यालयको पाठ्यपुस्तकीय सिकाइसँगै विद्यार्थीमा रहेका कला, साहित्य, संगीत र सिर्जनात्मक अभिव्यक्तिलाई प्रतिस्पर्धामार्फत बाहिर ल्याउने कार्यक्रमको उद्देश्य रहेको गाउँपालिकाका शिक्षा अधिकृत शिव गिरीले बताए। उनका अनुसार यस्ता गतिविधिले विद्यार्थीको आत्मविश्वास बढाउनुका साथै अन्तरनिहित क्षमता पहिचान र विकासमा सहयोग पुर्याउँछन्।
कार्यक्रम सफल बनाउन योगदान दिने निर्णायक, शिक्षकशिक्षिका, विद्यार्थी तथा अतिथिप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ।



प्रतिक्रिया दिनुहोस्