२०८३ कार्तिक २३
९८५७६५०३३४, ९८५७६५००९३

समाचार >बैसरी–सिरुबारीमा सडक फराकिलो, बेनी–जोमसोम यात्रा सहज हुने

म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको बैसरी–सिरुबारी खण्डमा एक लेनको साँघुरो सडकलाई विस्तार गरी दुई लेनको बनाइएको छ। असोज ११ गतेको अविरल वर्षा र बाढीपहिरोका कारण पूर्णरूपमा क्षतिग्रस्त बनेको सडकलाई बेनी–जोमसोम–कोरला सडक आयोजनाको निरन्तर प्रयासपछि फराकिलो बनाइएको हो।

भारी वर्षाले सडकको संरचना नै क्षतिग्रस्त बनाएपछि उक्त खण्डमा सवारी आवागमन जोखिमपूर्ण र कष्टकर बनेको थियो। साँघुरो सडकका कारण दुईतर्फी सवारी सञ्चालनमा कठिनाइ हुनुका साथै यात्रु तथा मालवाहक सवारीसाधनले लामो समयसम्म सास्ती बेहोर्नुपरेको थियो।

सडक आयोजनाको निरन्तर प्रयास र मर्मत तथा विस्तार कार्यपछि अहिले एक लेनमा सीमित सडकलाई दुई लेनमा स्तरोन्नति गरिएको छ। यससँगै सडकको साँघुरोपन हट्नुका साथै सवारीसाधनलाई एकअर्कालाई सहज रूपमा आवतजावत गर्न सक्ने अवस्था बनेको छ।

बेनी–जोमसोम सडक हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने प्रमुख जीवनरेखा हो। यही मार्ग हुँदै दैनिक यात्रु, पर्यटक, खाद्यान्न, निर्माण सामग्री तथा अत्यावश्यक वस्तुको ढुवानी हुने भएकाले सडकको सहजता स्थानीय जनजीवन र पर्यटन व्यवसायसँग प्रत्यक्ष जोडिएको छ।

बैसरी–सिरुबारी खण्डमा सडक फराकिलो भएसँगै बेनी–जोमसोम सडकमा यात्रा गर्ने यात्रु तथा सवारीचालकलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। वर्षाले क्षतिग्रस्त सडकलाई पुनः सञ्चालनयोग्य मात्र नभई दुई लेनमा विस्तार गरिनु सडक यातायातको सहजता र सुरक्षाका दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ।

प्रतिक्रिया दिनुहोस्