२०८३ असोज ७ मुस्ताङ । दुई दशकदेखि निर्माण र विस्तारकै नाममा समय बितिरहेको यो सडक अब विकासको प्रतीकभन्दा राज्यको ढिलासुस्तीको जीवित उदाहरण बन्न थालेको छ। ठाउँ–ठाउँमा पहिरो जाने, सडक भासिने र हिलाम्मे हुने क्रम रोकिएको छैन; वर्षा लागेपछि डोजरले सडक खन्ने र पुर्ने काममै राज्यको ठूलो धनराशि खर्च भइरहेको छ। प्रश्न अब सडक कहिले बन्छ भन्ने मात्र होइन, कहिले सम्पन्न भएर सम्बन्धित निकायलाई हस्तान्तरण हुन्छ भन्ने हो। जनताले वर्षौँदेखि जोखिमपूर्ण यात्रा गर्दै आएका छन्, यातायात व्यवसायीले महँगो सञ्चालन खर्च बेहोरेका छन् र यात्रुले चर्को भाडा तिर्नुपरेको छ। सडक निर्माणका नाममा बजेट खर्च भइरहने तर यात्रुको सास्ती उस्तै रहने अवस्था स्वीकार्य हुन सक्दैन। विकासका लागि छुट्याइएको रकम बारम्बार मर्मतमा होइन, दिगो पूर्वाधार निर्माणमा खर्च हुनुपर्छ। अब बहाना होइन, स्पष्ट समयसीमा, गुणस्तरीय निर्माण र जवाफदेही कार्यान्वयन चाहिन्छ। बेनी–जोमसोम सडक बेलैमा सम्पन्न गरौँ, जनताको वर्षौँदेखिको सास्ती अन्त्य गरौँ।



प्रतिक्रिया दिनुहोस्