मिलापत्रपछि थुनामुक्त, ‘अब यस्तो गल्ती दोहोर्याउँदिनँ’ प्रतिबद्धता
मुस्ताङ, असोज ५ । पत्रकार सुन्दरकुमार थकालीलाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरी नियन्त्रणमा परेका लोमन्थाङ गाउँपालिका–४ चुडचुङका छेतेन गुरुङ मिलापत्रपछि थुनामुक्त भएका छन्। घटनापछि प्रहरीको खोजीमा परेका गुरुङ असोज २ गते नियन्त्रणमा परेका थिए भने असोज ४ गतेसम्म प्रहरी हिरासतमा रहेका थिए।
ई–मुस्ताङ न्यूज डटकमका सञ्चालक तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य थकालीमाथि धम्की दिएको उजुरीपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङले कानुनी प्रक्रिया अघि बढाएको थियो। पत्रकार महासंघ मुस्ताङ शाखाले घटनालाई गम्भीर रूपमा लिएर आवश्यक कानुनी कारबाहीको तयारीसमेत गरेको थियो।

तर, लोघेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका जनप्रतिनिधि, समाजसेवी तथा पत्रकार महासंघका पदाधिकारीबीच भएको छलफलपछि पहिलोपटकको घटनाका रूपमा मिलापत्रमार्फत विवाद टुंग्याउने सहमति भएको हो। छलफलमा गुरुङ र उनका बुबाले आफ्नो गल्ती स्वीकार गर्दै पत्रकार थकाली तथा महासंघका पदाधिकारीसँग माफी मागेका थिए।
मिलापत्रमा आगामी दिनमा कुनै पनि पत्रकारमाथि गालीगलौज, धम्की वा यस्तै अवाञ्छित गतिविधि नगर्ने प्रतिबद्धता जनाइएको छ। भविष्यमा यस्तै घटना दोहोरिए प्रचलित कानुनअनुसार कारबाहीको बाटो खुला रहने स्पष्ट पारिएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको मुद्दा फाँटमा तयार गरिएको मिलापत्रमा गुरुङले सहीछाप गरेका थिए भने उनका पिता साक्षी बसेका थिए। रोहबरमा लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट, लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङ तथा नेपाल पत्रकार महासंघ मुस्ताङका संस्थापक अध्यक्ष भीमबहादुर रसाइली र कार्यकारिणी समितिका अध्यक्ष सुनदेवी रसाइली बसेका थिए।
घटनाको अन्त्य मिलापत्रमा भए पनि यसले पत्रकारमाथि हुने धम्की र दुर्व्यवहारको गम्भीरता भने उजागर गरेको छ। कलम चलाउने पत्रकारलाई धम्की दिएर आवाज रोक्न खोज्नुको सट्टा कानुन र संवादको बाटो रोज्नुपर्ने सन्देश घटनाले दिएको छ।



प्रतिक्रिया दिनुहोस्