२०८३ असोज २ | जोमसोम, मुस्ताङ ।
पत्रकार सुन्दर कुमार थकालीलाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको आरोपमा लोमन्थाङ गाउँपालिका–४ चुडचुङका छेतेन गुरुङ प्रहरी नियन्त्रणमा परेका छन्। ई–मुस्ताङ न्यूज डटकमका सञ्चालक तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य थकालीमाथि धम्की दिएको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङले खोजी तीव्र बनाएको थियो।
नेपाल पत्रकार महासंघ मुस्ताङ शाखामार्फत उजुरी दर्ता भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको हो। पत्रकारमाथि नै ज्यान मार्ने धम्की आएको घटनालाई प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षासँग जोडेर महासंघले गम्भीर रूपमा लिएको जनाएको छ।
तर आरोपित गुरुङ प्रहरी नियन्त्रणमा परेलगत्तै उनलाई छुटाउन जिल्लाका केही राजनीतिक नेतृत्व तथा जनप्रतिनिधिहरूबाट फोन सम्पर्क र दबाब आएको आरोप सार्वजनिक भएको छ। पत्रकारमाथि ज्यान मार्ने धम्कीको आरोपमा कानुनी अनुसन्धान हुनुपर्ने अवस्थामा उल्टै आरोपितको पक्षमा राजनीतिक पहुँच प्रयोग भएको हो भने त्यसले कानुनी शासन र प्रेस सुरक्षामाथि गम्भीर प्रश्न उठाउने महासंघको भनाइ छ। सम्बन्धित राजनीतिक नेतृत्व तथा जनप्रतिनिधिहरूको औपचारिक धारणा भने सार्वजनिक भएको छैन।
घटनासम्बन्धी उजुरी २०८३ असोज १ गते गृह मन्त्रालयमा दर्ता नं. १४००/२०८३/०८४ मा दर्ता भएको बताइएको छ। अब गृह मन्त्रालयमा पुगेको उजुरीलाई जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले कसरी अघि बढाउँछन् भन्ने विषय चासोको बनेको छ।
पत्रकार महासंघले पत्रकारमाथि ज्यान मार्ने धम्की दिने घटनामा कुनै पनि प्रकारको राजनीतिक वा अन्य दबाबबाट अनुसन्धान प्रभावित हुन नदिन सम्बन्धित निकायलाई आग्रह गरेको छ। प्रेसमाथिको धम्कीलाई पहुँचका आधारमा मिलाउने होइन, प्रमाण र कानुनका आधारमा टुंगो लगाउनुपर्ने महासंघको जोड छ। गुरुङमाथि लागेको आरोपको अन्तिम निरूपण भने प्रहरी अनुसन्धान र सम्बन्धित कानुनी प्रक्रियाबाट हुने छ।





प्रतिक्रिया दिनुहोस्