मुस्ताङ, भदौ २५। बालबालिकाका अधिकार, सहभागिता र नेतृत्व विकासका सवालमा मुस्ताङको जिल्ला बाल सञ्जाल सक्रिय बन्दै गएको छ। बाल अधिकारसम्बन्धी कार्यक्रमलाई औपचारिकतामा सीमित नगरी बालबालिकाकै आवाज नीति तथा कार्यक्रमसम्म पुर्याउने उद्देश्यसहित जिल्ला बाल अधिकार समिति र जिल्ला बाल सञ्जालबीच छलफल तथा समीक्षा गरिएको छ।
एकीकृत सेवा कार्यालय, मुस्ताङको आयोजनामा भएको बैठकले आगामी राष्ट्रिय बाल दिवसलाई लक्षित गर्दै माध्यमिक तहका विद्यार्थीबीच जिल्ला स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ। बालबालिकाभित्र रहेको सिर्जनात्मक क्षमता प्रस्फुटन गराउनुका साथै उनीहरूले भोगिरहेका सामाजिक, शैक्षिक तथा वातावरणीय सवाललाई सार्वजनिक बहसमा ल्याउने माध्यमका रूपमा प्रतियोगितालाई अघि बढाइने जनाइएको छ।
बैठकले घरपझोङ गाउँपालिकाले आयोजना गर्ने जलवायु सम्मेलनमा जिल्ला बाल सञ्जालका दुई प्रतिनिधि सहभागी गराउने निर्णयसमेत गरेको छ। जलवायु परिवर्तनको असर बालबालिका र भावी पुस्तामाथि प्रत्यक्ष रूपमा परिरहेको अवस्थामा उनीहरूलाई जलवायु बहसमा सहभागी गराउनु आवश्यक रहेको बैठकमा जोड दिइएको थियो।
जिल्ला समन्वय अधिकारी घनश्याम सुवेदीको प्रमुख आतिथ्यमा भएको बैठकमा बालबालिकाका क्षेत्रमा क्रियाशील निकायबीच समन्वय, बाल संरक्षण, क्षमता विकास तथा बाल सहभागितालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। सहभागीहरूले ‘बालबालिकाका लागि योजना बनाउने मात्र होइन, योजना बनाउने ठाउँमै बालबालिकाको आवाज सुनिनुपर्ने’मा जोड दिएका छन्।





प्रतिक्रिया दिनुहोस्