२०८३ भद्रौ २४, मुस्ताङ । घरपझोङ गाउँपालिकाले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा हासिल गर्ने गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका चार विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत कार्यक्रम अन्तर्गत साधारण र प्राविधिक धारमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गरिएको हो। गाउँपालिकाका उपाध्यक्ष जमुना थकाली र प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले उत्कृष्ट विद्यार्थीलाई जनही १५ हजार रुपैयाँका दरले पुरस्कार वितरण गरेका छन्।
साधारण धारतर्फ छात्रामा जनहित माध्यमिक विद्यालय, जोमसोमकी रिक्साङ खण्डो गुरुङ र छात्रतर्फ जनवाल माध्यमिक विद्यालय, मार्फाका विपिन पोख्रेल नेपाली उत्कृष्ट घोषित भएका छन्। त्यसैगरी, प्राविधिक धारतर्फ जनहित माध्यमिक विद्यालय, जोमसोमकी एलिना पुर्जा छात्रातर्फ र खेमराज विक छात्रतर्फ उत्कृष्ट भएका हुन्।
गाउँपालिकाले विद्यार्थीको शैक्षिक उपलब्धिको सम्मान गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार प्रदान गरेको जनाएको छ। स्थानीय तहबाट प्रदान गरिएको यस्तो प्रोत्साहनले विद्यार्थीमा अध्ययनप्रतिको उत्साह बढाउनुका साथै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
पुरस्कृत विद्यार्थीलाई गाउँपालिकाले बधाई तथा उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गरेको छ। उत्कृष्ट विद्यार्थीको उपलब्धिलाई विद्यालय, अभिभावक तथा स्थानीय समुदायले समेत गौरवका रूपमा लिएका छन्।





प्रतिक्रिया दिनुहोस्