मुस्ताङ | हिमाली क्षेत्रको पुख्र्यौली पेसा र मौलिक पहिचानका रूपमा रहेको याक–नाक पालन व्यवसायलाई जोगाउन मुस्ताङको घरपझोङ गाउँपालिकाले रणनीतिक पहलकदमी लिएको छ। ‘हिमाली याक–नाक प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत गाउँपालिकाले ५० प्रतिशत अनुदानमा पशुपालक किसानलाई याक र नाक वितरण गरेर लोपोन्मुख अवस्थामा पुगेको यो पेसालाई व्यावसायिक गति दिने प्रयास गरेको छ।
गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनका अनुसार, यो कार्यक्रम सङ्घीय सरकारको ससर्त अनुदानमा आधारित छ। गाउँपालिका र लाभग्राही किसानबीच ५०/५० प्रतिशत लागत साझेदारीको मोडेल अपनाइएको छ। यसका लागि पालिकाले सात लाख ५० हजार र किसानले सोही बराबरको रकम लगानी गरेका छन्। छनोट समितिको मापदण्ड पूरा गरेका जोमसोमका किसान पेम्बा गुरुङले मनाङको ङिस्याङ गाउँपालिकास्थित याकखर्कबाट कुल ५६ वटा याक, नाक र बाछाबाछी मुस्ताङ भित्र्याएका हुन्।
व्यवसायको निरन्तरता र दिगोपन सुनिश्चित गर्न गाउँपालिकाले कडा सर्तहरू तोकेको छ। पशु शाखा अधिकृत आइत थकालीका अनुसार, अनुदानमा प्राप्त याक–नाक कम्तीमा पाँच वर्षसम्म बिक्री गर्न पाइने छैन। जैविक विविधता र हिमाली पारिस्थितिक प्रणालीमा समेत टेवा पुर्याउने उद्देश्यले सञ्चालित यो कार्यक्रमले व्यावसायिक पशुपालनमा नयाँ उत्साह थपेको छ। थप सुरक्षाका लागि वितरण गरिएका पशुधनको बिमासमेत गरिएको छ, जसमा किसानले पाँच प्रतिशत शुल्क तिर्नुपर्ने र बाँकी स्थानीय सरकारले व्यहोर्ने व्यवस्था मिलाइएको छ।
पछिल्लो समय जलवायु परिवर्तन, चरन क्षेत्रको अभाव र जङ्गली वन्यजन्तुको जोखिमका कारण उच्चलेक र पाटनमा हुने याक–नाक पालन व्यवसाय सङ्कटमा परेको छ। यस अवस्थालाई मध्यनजर गर्दै सरकारले बिमा सुरक्षा नीति अघि सारेको हो। बिमा प्रतिनिधि गणेश जिसीका अनुसार, बिमामा आबद्ध किसानको पशुधन क्षति भएमा ९० प्रतिशतसम्म क्षतिपूर्ति प्राप्त हुनेछ। चालु आर्थिक वर्षमा थासाङ गाउँपालिकाले पनि यस्तै प्रकारको सहुलियत कार्यक्रम सञ्चालन गरेपछि मुस्ताङका उच्च हिमाली भेगमा याक–नाक प्रवर्द्धन गर्ने अभियानले थप तीव्रता पाएको छ।



प्रतिक्रिया दिनुहोस्