२०८३ आश्विन ११
९८५७६५०३३४, ९८५७६५००९३

भाषणको मञ्च होइन, जनताको प्रश्न सुन्ने थलो बनोस् मुस्ताङ थाक खेलकुदको उत्सव

‘खेलकुद र संस्कृतिको नाममा हुने कार्यक्रममा राजनीतिक तिक्तता होइन, खेलाडी, कलाकार, दलित र विपन्नको भविष्यको बहस चाहिन्छ’

थासाङ ३ लेते कालोपानी मुस्ताङ । मुस्ताङको थाक क्षेत्र केवल एउटा भूगोल होइन, आफ्नो मौलिक संस्कृति, परम्परा, भाषा, खेलकुद र सामाजिक पहिचान बोकेको महत्वपूर्ण क्षेत्र हो। यही विरासतलाई निरन्तरता दिँदै मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघले ५२औँ संस्करणको कार्यक्रम लेते कालोपानी स्थित धम्पु ज्ञानोदयको प्राङ्गणमा आयोजना गरेको छ। असोज ८ देखि १० गतेसम्म तय गरिएको कार्यक्रम वर्षाका कारण असोज ११ गते सम्पन्न हुँदैछ। संघका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष कृष्णकुमार शेरचनको अध्यक्षतामा भएको समारोहमा विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वको उपस्थिति थियो। कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्ववाणिज्य मन्त्री रोमी गौचन थकाली, प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली र पूर्व प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन लगायतको उपस्थिति थियो। योगेश गौचन थकाली मुस्ताङबाट प्रतिनिधिसभामा निर्वाचित राजनीतिक व्यक्तित्व हुन्।

तर प्रश्न यहाँबाट सुरु हुन्छ—खेलकुद र संस्कृति जोगाउने नाममा आयोजना गरिएको मञ्च अन्ततः एकअर्कालाई राजनीतिक रूपमा घोचपेच गर्ने थलो बन्नु कति उचित हो? शुभकामना मन्तव्यका लागि दिइएको समय जनताका अपेक्षा, खेलाडीका समस्या, कलाकारका भविष्य र स्थानीय विकासका योजनामा खर्चिनुपर्ने हो। तर मञ्चमा व्यक्तिगत असन्तुष्टि, राजनीतिक कटाक्ष र पुराना तिक्तता पोखिने अवस्था सिर्जना भयो भने त्यसले कार्यक्रमको गरिमा घटाउँछ। लोकतन्त्रमा आलोचना निषेध छैन; बरु आलोचना आवश्यक छ। तर आलोचना तथ्यमा आधारित, मर्यादित र समाधानमुखी हुनुपर्छ। माइक हातमा आयो भन्दैमा शब्दको सीमा पनि समाप्त हुनु हुँदैन।

५२औँ संस्करणसम्म आइपुगेको थाक खेलकुद तथा सांस्कृतिक विकास संघसँग एउटा गम्भीर प्रश्न छ—अबको ५२ वर्षपछि थाक क्षेत्रका खेलाडी र कलाकार कहाँ हुनेछन्? आजका युवा रोजगारी र अवसरको खोजीमा विदेश पलायन भइरहेका छन्। खेलाडीले खेल खेलेर जीवन धान्न सक्ने अवस्था बनेको छ कि छैन? स्थानीय कलाकारले आफ्नो कला र संस्कृतिलाई पेशा बनाउन सक्ने वातावरण छ कि छैन? प्रतिभावान युवालाई गाउँमै रोक्ने स्वरोजगारका कार्यक्रम कहाँ छन्? यस्ता प्रश्नको जवाफ खोज्ने मञ्चमा यदि धेरै समय एकअर्काको राजनीतिक आलोचनामै बित्छ भने उत्सवको मूल उद्देश्य नै ओझेलमा पर्छ।

थाकको खेलकुद केवल कप जित्ने प्रतियोगिता होइन, युवाको भविष्यसँग जोडिएको अभियान हो। संस्कृति केवल नाचगान र पोसाक प्रदर्शन होइन, पुस्तान्तरण गर्नुपर्ने सामाजिक सम्पत्ति हो। त्यसैले संघले अब खेलाडीको क्षमता विकास, नियमित प्रशिक्षण, प्रशिक्षक व्यवस्थापन, खेल सामग्री, पुरस्कार, स्थानीय कलाकारको संरक्षण, सांस्कृतिक अभिलेखीकरण र रोजगारी सिर्जनालाई आफ्नो दीर्घकालीन योजनाको केन्द्रमा राख्नुपर्छ। विदेश जानुपर्ने बाध्यतालाई भाषणले रोक्दैन; गाउँमै अवसर सिर्जना गर्नुपर्छ।

यसैगरी राजनीतिक नेतृत्वसँग पनि जनताको प्रश्न छ—निर्वाचन जित्नु मात्रै जनप्रतिनिधिको अन्तिम उपलब्धि हो कि त्यसपछि जनताको जीवन बदल्ने जिम्मेवारी पनि हो? मुस्ताङमा निर्वाचनका परिणाम र राजनीतिक प्रतिस्पर्धा परिवर्तन हुँदै आएका छैनन् । जहिलेसुकै रकम बाँडेर गाडीका गाडी मतदाता खरिद गरी ल्याएर उम्मेदवार जित्ने परिपाटीको अन्त्य हुन सकिरहेको छैन । सरकारी कर्मचारी जसमा चाहे सुरक्षा निकायहोस् चाहे मतदान अधिकृतहोस् चाहे प्रमुख जिल्ला अधिकारीहोस् नेपाली कांग्रेस पार्टीको  पक्षमा रहेर गएको प्रतिनिधि सभा सदस्यको निर्वाचन जिताई दिए । तरपनि बलियो प्रमाण हुंदा पनि नयाँ सरकारले ति कर्मचारीहरूलाई कार्वाही गर्न सकेन । तरपनि करोडौ रकम खर्चेर जनताले मत दिएर पठाएका प्रतिनिधिले त्यसपछि आफूलाई मतदाताभन्दा माथि होइन, मतदाताप्रति अझ बढी उत्तरदायी ठान्नुपर्ने हो। तर मुस्ताङमा जितपछि उम्मेदवारवादको बिकास हुने गरेको छ प्रतिनिधि सभा सदस्य निर्वाचन बंशजवादमा खुम्चिन सफलभयो यो थिति कहिलेसम्म कायम रहन्छ ?

यही ठाउँमा दलित र विपन्न समुदायको प्रश्न अझ गम्भीर भएर आउँछ। लेते–धम्पु क्षेत्रमा पुस्तौँदेखि बसोबास गर्दै आएका दलित समुदायले समान सम्मान, समान अवसर र समान सामाजिक हैसियत पाएका छन् कि छैनन्? यदि कुनै ठाउँमा आज पनि सामाजिक विभेद वा उचनिचको व्यवहार कायम छ भने त्यसको अन्त्य कसले गर्ने? कुनै समुदायलाई परम्परागत रूपमा पछाडि पारिएको छ भने त्यसलाई निरन्तरता दिने होइन, राज्यका जनप्रतिनिधि, स्थानीय सरकार र सामाजिक नेतृत्वले त्यसको अन्त्यका लागि अगुवाइ गर्नुपर्छ। दलितलाई हात जोडेर नमस्कार गराउने होइन, बराबरी हैसियतमा हातेमालो गर्ने राजनीति चाहिन्छ।

त्यसैगरी सार्वजनिक जीवनमा रहेका व्यक्तिको आर्थिक हैसियतबारे पनि प्रश्न उठ्न सक्छ। महँगा सवारीसाधन, सम्पत्ति र जीवनशैलीबारे जनताले प्रश्न सोध्नु लोकतन्त्रमा अस्वभाविक होइन। तर प्रश्न उठाउनु र प्रमाणबिना कसैलाई भ्रष्टाचारको दोषी ठहर गर्नु एउटै कुरा होइन। कसैको सम्पत्तिबारे शंका वा आरोप छ भने त्यसको अनुसन्धान सम्बन्धित संवैधानिक तथा कानुनी निकायले तथ्य र प्रमाणका आधारमा गर्नुपर्छ। ‘अख्तियारको फन्दामा पर्न सक्छ’ भन्ने धम्कीपूर्ण भाषाभन्दा ‘सम्पत्तिको स्रोत सार्वजनिक गरौँ, कानुनले जाँचोस्’ भन्ने पारदर्शी संस्कार धेरै शक्तिशाली हुन्छ।

त्यसैले राजनीतिक नेतृत्वले पनि आलोचनाबाट भाग्ने होइन, प्रश्नको जवाफ दिने संस्कार बसाल्नुपर्छ। आफूविरुद्ध बोल्ने पत्रकारलाई शत्रु ठान्ने, प्रश्न गर्ने नागरिकलाई विरोधी मान्ने र सार्वजनिक मञ्चलाई आफ्नो रिस पोख्ने स्थान बनाउने प्रवृत्तिले लोकतन्त्र बलियो हुँदैन। पत्रकारितामाथि असहमति हुन सक्छ, समाचारमाथि प्रश्न उठाउन सकिन्छ, तर त्यसको जवाफ तथ्य र तर्कबाट दिनुपर्छ। माइकको शक्ति क्षणिक हुन्छ; जनताको स्मृति लामो हुन्छ।

अझ महत्वपूर्ण कुरा—कुनै पनि राजनीतिक व्यक्तिले आफ्नो क्षेत्रमा दशकौँदेखि रहेको गरिबी, बेरोजगारी, सामाजिक विभेद, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीका प्रश्नलाई भाषणको भीडमा हराउन दिनु हुँदैन। गरिबको हातमा चुनावको बेला केही रकम पुग्नु र उसको परिवारको जीवनस्तर स्थायी रूपमा माथि उठ्नु फरक कुरा हो। जनताको हातमा पैसा थमाएर मत माग्ने संस्कारभन्दा जनताको हातमा सीप, रोजगारी र अवसर दिने राजनीति हजारौँ गुणा अर्थपूर्ण हुन्छ। निर्वाचन स्वच्छ प्रतिस्पर्धाको माध्यम बन्नुपर्छ; पैसाको प्रभावको चर्चा उठ्छ भने त्यसलाई प्रमाणसहित कानुनी निकायको निगरानीमा ल्याउनुपर्छ।

अब थाक खेलकुद तथा सांस्कृतिक विकास संघले पनि एउटा नयाँ परम्परा सुरु गर्न सक्छ—उद्घाटन समारोहमा राजनीतिक भाषणको समय घटाएर ‘खेलाडीको भविष्य’, ‘कलाकारको रोजगारी’, ‘दलितको समानता’, ‘युवाको विदेश पलायन’ र ‘स्थानीय अर्थतन्त्र’ माथि सार्वजनिक बहस गर्ने। घरपझोङ गाउँपालिका, जिल्ला समन्वय समिति, प्रशासन, स्थानीय सरकार, जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि, राजनीतिक दल, पत्रकार, समाजसेवी र नागरिक समाजलाई साक्षी मात्र होइन, समाधानका साझेदार बनाउने। कार्यक्रम कसैलाई होच्याउने मञ्च होइन; मुस्ताङको भविष्य बनाउने साझा चौतारी बन्नुपर्छ।

अन्ततः कुरा कसले कसलाई कति गाली गर्‍यो भन्ने होइन। प्रश्न यो हो—मुस्ताङका जनताको जीवनमा के परिवर्तन आयो? खेलाडीले आफ्नो प्रतिभाबाट जीवन धान्न सके कि सकेनन्? कलाकारले आफ्नै भूमिमा सम्मानपूर्वक बाँच्ने अवसर पाए कि पाएनन्? दलितले बराबरीको अनुभूति गरे कि गरेनन्? युवाले विदेश जानुको सट्टा गाउँमै भविष्य देख्न थाले कि थालेनन्? जनप्रतिनिधिले जनताको विश्वासलाई कामबाट प्रमाणित गरे कि गरेनन्?

नाङ्लो ठटाएर हात्ती तर्साउने राजनीति अब मुस्ताङलाई चाहिएको छैन। कसैलाई तथानाम गाली गरेर, धम्क्याएर वा व्यक्तिगत कुण्ठा पोखेर नेता ठूलो हुँदैन। नेता ठूलो हुने आधार उसको बोलीको चर्कोपन होइन, जनताको जीवनमा देखिएको परिवर्तन हो। धनले क्षणिक भीड जम्मा गर्न सक्ला, तर जनताको मन विश्वासले मात्र जितिन्छ।

५२औँ थाक खेलकुद तथा सांस्कृतिक उत्सवले एउटा नयाँ सन्देश दिनुपर्छ-मञ्चमा गाली होइन, मैदानमा खेल; भाषणमा आरोप होइन, योजनामा विकास; राजनीतिमा अहंकार होइन, जनताप्रति जवाफदेहिता; समाजमा विभेद होइन, समानता। यही संस्कार बसाल्न सकियो भने थाक खेलकुदको उत्सव केवल वार्षिक कार्यक्रम रहने छैन, मुस्ताङको सामाजिक रूपान्तरणको अभियान बन्नेछ।

प्रतिक्रिया दिनुहोस्