२०८३ आश्विन ६
९८५७६५०३३४, ९८५७६५००९३

कोरलानाकाबाट चीनसँगको व्यापार बढ्दा मुस्ताङ भन्सारमा २० दिनमै सवा २ अर्ब राजस्व

मुस्ताङ, असोज ५ । रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवागढी–केरुङ नाका बन्द भएपछि नेपाल–चीन व्यापारको दबाब उत्तरी कोरलानाकातर्फ सरेको छ। नाका परिवर्तनसँगै कोरलाबाट आयात अस्वाभाविक रूपमा बढ्दा मुस्ताङ भन्सार कार्यालयले भदौ १० गतेयता २० दिनमै २ अर्ब ५४ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

रसुवागढी–केरुङ नाका बन्द भएपछि कोरला व्यस्त : ५६४ कन्टेनर र १ हजार ९० ईभीको जाँचपास

भन्सार कार्यालयका अनुसार उक्त अवधिमा चीनबाट कोरलानाका हुँदै आएका ५६४ वटा मालवाहक कन्टेनर र १ हजार ९० वटा विद्युतीय सवारीसाधन (ईभी) को जाँचपास भएको छ। रसुवागढी–केरुङ नाकाबाट हुँदै आएको आयातको ठूलो हिस्सा मार्ग परिवर्तन भएर कोरलाबाट आउन थालेपछि मुस्ताङ भन्सारको राजस्व संकलनमा एकाएक उछाल आएको हो।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरलानाकाबाट हुने नियमित आयातसँगै रसुवागढी नाका बन्द भएपछि रुट परिवर्तन भएका मालवस्तु तथा सवारीसाधनसमेत यही नाकाबाट भित्रिन थालेका छन्। यसका कारण मुस्ताङ भन्सारले छोटो अवधिमै ठूलो परिमाणमा राजस्व संकलन भएको छ ।

यसअघि कोरलानाकामा व्यापारिक गतिविधि तुलनात्मक रूपमा सीमित थियो। चालु आर्थिक वर्षको साउनदेखि भदौ ९ गतेसम्म ४० दिनमा मुस्ताङ भन्सारले जम्मा ५३ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो। सो अवधिमा १६३ वटा ईभी र १३३ वटा मालवाहक कन्टेनरको जाँचपास भएको थियो।

तर भदौ १० गतेपछि अवस्था बदलियो। साउन र भदौ दुई महिनामा मुस्ताङ भन्सारले कुल ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। त्यसमध्ये साउनमा २६ करोड ३९ लाख र भदौमा मात्रै २ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ।

राजस्व वृद्धिमा ईभी आयातको ठूलो योगदान देखिएको छ। साउनमा १०० वटा ईभी कोरलानाका हुँदै नेपाल भित्रिँदा १७ करोड ३४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। भदौमा ईभीको संख्या बढेर १ हजार २५३ पुगेपछि त्यसबाट मात्रै १ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन भएको प्रमुख चुडालले जानकारी दिनुभयो।

कन्टेनर आयातमा पनि उल्लेख्य वृद्धि भएको छ। साउनमा ५७ वटा मालवाहक कन्टेनर कोरलाबाट नेपाल भित्रिएकोमा भदौमा यो संख्या बढेर ६९७ पुगेको छ। रसुवागढी–केरुङ नाका बन्द र तातोपानी नाकासमेत सञ्चालनमा नरहेको अवस्थामा कोरलानाका चीनसँगको उत्तरी व्यापारका लागि महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा देखिएको छ।

मुस्ताङ भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। सो वर्ष कोरलानाका हुँदै ३ हजार २२३ वटा ईभी नेपाल भित्रिएका थिए। चालु आर्थिक वर्षको सुरुआती दुई महिनामै आयातमा आएको तीव्र वृद्धिले कोरलानाकाको व्यापारिक सम्भावना र भन्सार राजस्वमा यसको प्रभावलाई थप उजागर गरेको छ।

रसुवागढी–केरुङ नाका कहिलेसम्म बन्द रहने र व्यापारिक आवागमन कहिले सामान्य अवस्थामा फर्किने भन्ने विषयले भने कोरलानाकाबाट भइरहेको बढ्दो आयातलाई कति समयसम्म निरन्तरता दिने भन्ने निर्धारण गर्नेछ। अहिलेका लागि चीनबाट नेपाल भित्रिने मालवस्तु र विद्युतीय सवारीसाधनको ठूलो हिस्सा कोरलानाकातर्फ केन्द्रित हुँदा मुस्ताङको उत्तरी नाका अचानक व्यापारिक चापको केन्द्र बनेको छ।

प्रतिक्रिया दिनुहोस्