२०८३ भाद्र ३०
९८५७६५०३३४, ९८५७६५००९३

हिमालदेखि तराईसम्म जलवायु संकटको साझा बहस, जोमसोममा राष्ट्रिय सम्मेलन

२०८३ भाद्र २८ जोमसोम, मुस्ताङ — जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको हिमाली जिल्ला मुस्ताङमा हिमाल, पानी, कृषि, पर्यटन र मानव जीवनमाथि बढ्दो जलवायु संकटबारे राष्ट्रिय बहस गर्न ‘जलवायु परिवर्तनसम्बन्धी सम्मेलन–२०८३’ आयोजना हुँदैछ। घरपझोङ गाउँपालिकाको आयोजनामा भदौ ३० र ३१ गते जोमसोममा हुने सम्मेलनले जलवायु परिवर्तनका असरबारे चर्चा मात्र नभई स्थानीय तहदेखि राष्ट्रिय तहसम्म समाधानका साझा रणनीति तय गर्ने लक्ष्य लिएको छ।

सम्मेलनमा देशभरका ७७ वटै जिल्लाका प्रतिनिधि तथा ७ सय ५३ स्थानीय तहका जनप्रतिनिधि, विज्ञ, अनुसन्धानकर्ता, सरकारी निकाय, विकास साझेदार, जलवायु अभियन्ता तथा सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ। करिब २ हजार ५ सय प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहने अपेक्षा गरिएको सम्मेलनलाई हिमाली क्षेत्रबाट जलवायु संकटबारे राष्ट्रिय नीति निर्माणमा दबाब सिर्जना गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।

जलवायु परिवर्तनको प्रभाव अब भविष्यको सम्भावित जोखिम मात्र नभई हिमालमै देखिने वर्तमान संकट बनिसकेको छ। हिमाली क्षेत्रमा हिमपातको स्वरूपमा आएको परिवर्तन, हिउँका स्रोत खुम्चिँदै जानु, तापक्रम वृद्धि, अनियमित वर्षा, बाढीपहिरो, नदी कटान तथा कृषि उत्पादनमा देखिएको परिवर्तनले हिमाली बस्तीको जीवनशैलीदेखि पर्यटन अर्थतन्त्रसम्म प्रभावित हुन थालेको छ। मुस्ताङजस्ता संवेदनशील भूगोलमा जलवायु परिवर्तनको असर अझ गम्भीर रूपमा देखिन थालेकाले सम्मेलनको औचित्य थप बढेको आयोजकको भनाइ छ।

सम्मेलनमा हिमाल, पहाड र तराईमा जलवायु परिवर्तनले पारेका फरक–फरक प्रभाव, स्थानीय तहमा देखिएका समस्या तथा अनुकूलनका अभ्यास, जलवायुजन्य विपद् व्यवस्थापन, कृषि तथा खाद्य सुरक्षा, पर्यटन, पानीका स्रोत संरक्षण र स्थानीय अर्थतन्त्रमा परेको प्रभावबारे छलफल हुने बताइएको छ। त्यस्तै स्थानीय तहले भोगिरहेका जलवायुजन्य चुनौतीलाई प्रदेश र संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोड्ने विषयमा समेत बहस गरिनेछ।

आयोजक घरपझोङ गाउँपालिकाले सम्मेलनलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई स्थानीय अनुभव, वैज्ञानिक अध्ययन र राष्ट्रिय नीतिबीचको सेतु बनाउने तयारी गरेको छ। जलवायु संकटको सबैभन्दा ठूलो भार भोग्ने समुदायले नै यसको समाधानमा नेतृत्वदायी भूमिका पाउनुपर्ने, स्थानीय तहका अनुभवलाई राष्ट्रिय नीति निर्माणमा समेट्नुपर्ने र जलवायु अनुकूलनका कार्यक्रमलाई व्यवहारमै प्रभावकारी बनाउनुपर्ने विषय सम्मेलनका प्रमुख एजेन्डा बन्नेछन्।

मुस्ताङमा सम्मेलन आयोजना हुनु आफैंमा पनि अर्थपूर्ण मानिएको छ। हिमालको काखमा बसेर जलवायु परिवर्तनका विषयमा बहस गर्न लागिएको यो सम्मेलनले ‘हिमाल बचाऊ, पानी बचाऊ, जीवन बचाऊ’ भन्ने सन्देशलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने अपेक्षा गरिएको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिन थालेका परिवर्तनलाई स्थानीय समुदायको भोगाइ र तथ्यसँग जोडेर प्रस्तुत गर्ने तयारीसमेत गरिएको छ।

सम्मेलनबाट प्राप्त निष्कर्षलाई स्थानीय तहमा मात्र सीमित नराखी प्रदेश र संघीय सरकारका नीति निर्माण तथा आगामी विकास योजनामा समेट्न पहल गरिने आयोजकको भनाइ छ। जलवायु परिवर्तनको असर घटाउन सरकार, स्थानीय समुदाय, विज्ञ र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्ने तथा जलवायु अनुकूलन र विपद् जोखिम न्यूनीकरणका लागि साझा प्रतिबद्धता निर्माण गर्ने उद्देश्य सम्मेलनले लिएको छ।

जलवायु संकटले हिमाललाई मौन रूपमा बदलिरहेको बेला मुस्ताङबाट उठ्न लागेको यो आवाज अब केवल हिमालको समस्या भनेर सीमित गर्न नमिल्ने आयोजकको निष्कर्ष छ। हिमालमा आएको परिवर्तनको असर पानी, कृषि, ऊर्जा, पर्यटन हुँदै मुलुकको समग्र अर्थतन्त्र र जनजीवनसम्म पुग्ने भएकाले हिमाल संरक्षण राष्ट्रिय दायित्व हो भन्ने सन्देश सम्मेलनमार्फत देशभर पुर्‍याउने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्