२० भदौ, पोखरा । मुस्ताङको लोमान्थाङमा ४ हजार ६ सय ४५ मिटरको उचाइमा भदौ मसान्तमा गल्फ च्यालेन्ज हुने भएको छ । हाइ अल्टिच्युडमा गल्फ खेल हुने ठाउँका रुपमा मुस्ताङको लोमान्थाङलाई विश्वसामु चिनाउन कसरत गरिरहेका गण्डकी प्रदेश सभाका पूर्व सांसद इन्द्रधारा विष्टको नेतृत्वमा लोमान्थाङ गाउँपालिकाले मैत्रीपूर्ण गल्फ खेलाउने भएको हो ।
विष्टकै नेतृत्वमा पोखराका चार गल्फरले गत असार १८ गते गल्फ खेल्दै कोर्षको स्केच गरेका थिए । पोखरेली गल्फरले प्रवद्र्धनात्मक गत साल गल्फ खेलेपछि विश्वभरमा गल्फर भित्राउने सपना देखेका विष्टको नेतृत्वमा देशका विभिन्न सहरबाट बोलाएर भदौ ३० गते खेलाउन लागेका हुन् ।
‘गल्फ पर्यटनलाई विश्वसामु पुर्याउन विश्वकै उच्च स्थानमा गल्फ प्रतियोगिता राखिएको हो । गल्फका खेलाडीहरूले एकपटक लोमान्थाङमा खेल्नुपर्छ भन्ने मानसिकताको विकास गराउनु प्रतियोगिताको उद्देश्य हो,’ विष्टले भने ।
लोमान्थाङ गाउँपालिका प्रतियोगिताको आयोजक रहेको छ । काठमाडौं, पोखरा, धरान, बुटवल लगायतका सहरका ४० गल्फर लोमान्थाङ आउने छन् । जसमा चार महिला गल्फर पनि प्रतियोगितामा भाग लिने छन् ।
इभेन्ट ९ होलमा ३-४ ह्यान्डिक्यापको साथ स्थिर फोर्ड ढाँचामा खेलाइने छ । होल इन वानको विजेताले घोडा पुरस्कार पाउने छ । तर, विजेता खेलाडीले घोडाको विकल्प खोजे एक लाख रुपैयाँ नगद प्रदान गरिने विष्टले बताए ।
‘घोडाको अप्सनमा नगद एक लाख रुपैयाँ पनि लिन सक्नुहुनेछ,’ उनले भने । उपविजेता, बेष्ट ग्रस, पिनको नजिक, सबैभन्दा लामो ड्राइभ, बर्डीजलाई पनि पुरस्कारको व्यवस्था रहेको छ ।
गत वर्ष पनि पनि लोमान्थाङको हाइ अल्टिच्युड मैदानमा गल्फ च्यालेन्ज भएको थियो । लोमान्थाङको गल्फ कोर्सलाई वर्ल्ड रेकर्ड कायम गराउन गल्फ च्यालेन्जको आयोजना गरेको उनको भनाइ छ । गत वर्षको गल्फ प्रतियोगितामा श्याम लामा विजयी बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्