२०८१ कार्तिक २७
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङकाे कागबेनीमा बाढीः १५ घर, एक निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगायो (फाेटाे सहित)

 

श्रावण २९ २०८० मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले १५ घर, एक निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ ।

बाढीले १५–१६ घर, कागबेनी प्रहरी चौकी, कागबेनी र छुसाङ जोड्ने पक्की पुल र केही गाडीहरु पनि बगाएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । प्रहरीहरुले हतियार भने जोगाउन सफल भएका छन् । प्रहरीहरु गाउँपालिकाको भवनमा बसेका छन् ।

कागबेनी र छुसाङ जोड्ने पक्की पुल बगाएपछि कागबेनीसँग अपर मुस्ताङको सडक सम्पर्क टुटेको केसीले जानकारी दिए । राति ठूलो वर्षासँगै खोलामा बाढी आएपछि बाढी कागबेनीको बीच बस्तीसम्म पसेको छ । बाढी बस्तीमा पस्न थालेपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका टोलीको सहयोगमा स्थानीयलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको प्रमुख जिल्ला अधिकारी केसीले बताए ।

उनका अनुसार “हाललाई नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, जनप्रतिनिधि र कर्मचारीहरुको टोली कागबेनी क्षेत्रमा परिचालित गरिएको छ । बाढीका कारण विद्धुतीय सेवा समेत अवरुद्ध भएको कारण उपल्लो मुस्ताङ सँग सम्पर्क हुन नसकेको बताए कागबेनी वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र र प्रसिद्ध धार्मिकस्थलसमेत हो ।

गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङका अनुसार वस्तीमा बाढी पस्न थालेपछि स्थानीयको भागाभाग भएको थियो । उनले स्थानीयलाई राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठूलो क्षति पुगेको बताए । उनका अनुसार बाढीले कागबेनीको पूजास्थल र बिजुलीका पोलसमेत बगाएको छ । विद्युत सेवा अवरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस्