२०८३ आश्विन ९
९८५७६५०३३४, ९८५७६५००९३

# थाक खेलकुद र संस्कृति संरक्षणमा योगदान पुर्‍याएका पवन तुलाचन सम्मानित

मुस्ताङ, असोज ९ । थासाङ गाउँपालिका–१ टुकुचे निवासी पवन तुलाचनलाई मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघले सम्मान गरेको छ। संघको ५२औँ थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रमको समुद्घाटन समारोहमा तुलाचनलाई खेलकुद तथा सांस्कृतिक क्षेत्रको विकास र संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

लेतेमा आयोजित भव्य समारोहमा तुलाचनलाई सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको हो। संघका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर खेलकुद गतिविधिलाई व्यवस्थित बनाउन, स्थानीय कला–संस्कृतिको संरक्षण गर्न तथा संस्थागत विकासमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै उनको योगदानको प्रशंसा गरिएको थियो।

तुलाचन थाक खेलकुद तथा सांस्कृतिक विकास संघको विकास र विस्तारका लागि निरन्तर सक्रिय रहने व्यक्तिका रूपमा परिचित छन्। संस्थाको उद्देश्यलाई व्यवहारमा उतार्न उनले समय, श्रम र अनुभवलाई निरन्तर प्रयोग गर्दै आएको बताइन्छ। संघका गतिविधिलाई गाउँ–समाजसम्म पुर्‍याउनेदेखि खेलकुदमार्फत युवालाई जोड्ने र स्थानीय सांस्कृतिक पहिचानको संरक्षणमा उनको सक्रियता रहँदै आएको छ।

टुकुचे गाउँ तथा स्थानीय क्लबको चौतर्फी विकासमा समेत तुलाचनले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। गाउँ, समाज र समग्र जिल्लाको विकासमा आफ्नोतर्फबाट योगदान पुर्‍याउनुपर्छ भन्ने सोचका साथ उनी सामाजिक तथा सामुदायिक गतिविधिमा जोडिँदै आएका छन्। खेलकुदलाई मनोरञ्जन मात्र नभई युवाको क्षमता विकास, अनुशासन र सामाजिक एकताको माध्यमका रूपमा अघि बढाउनुपर्ने उनको धारणा रहेको छ।

मिलनसार र शालीन स्वभावका तुलाचन सामाजिक क्षेत्रमा सहज रूपमा सबैसँग घुलमिल हुने व्यक्तिका रूपमा परिचित छन्। व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितलाई प्राथमिकता दिने र गाउँ–समाजको हितमा निरन्तर सक्रिय रहने उनको कार्यशैलीले स्थानीयस्तरमा समेत सकारात्मक छाप बनाएको बताइन्छ।

थाक समुदायको खेलकुद, कला, संस्कृति र सामाजिक एकताको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्ने क्रममा तुलाचनलाई गरिएको सम्मानले संस्थाप्रति उनको लामो समयदेखिको योगदानको कदर भएको संघले जनाएको छ। सम्मानपछि तुलाचनले आफूलाई प्रदान गरिएको सम्मानले आगामी दिनमा सामाजिक, खेलकुद तथा सांस्कृतिक क्षेत्रमा अझ सक्रिय भएर काम गर्ने प्रेरणा मिलेको बताएका छन्।

५२औँ थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन समारोहमा तुलाचनसहित खेलकुद, संस्कृति र सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वको सम्मानले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको छ। थाक समुदायको मौलिक संस्कृति र खेलकुदको संरक्षणसँगै नयाँ पुस्तालाई त्यससँग जोड्ने अभियानमा यस्ता सम्मानले योगदानकर्तालाई प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्