
एप्पलले आफ्नो अपरेटिङ सिस्टमको नयाँ संस्करण आईओएस १६ सार्वजनिक गरेको छ ।
विद्यमान आईओएसमा विभिन्न परिवर्तन तथा सुधार गर्दै तथा केही नयाँ फिचरहरू थप गरी एप्पलले आईओएसको नयाँ संस्करण तयार गरेको हो ।
आफ्नो वार्षिक विश्वव्यापी डेभलपर्स सम्मेलन (डब्लुु डब्लु डी सी) २०२२ का क्रममा आईओएस १६ सार्वजनिक गरिएको हो ।
आईओएसको नयाँ संस्करण यो वर्षको अन्त्यतिरबाट आइफोनमा उपलब्ध हुनेछ र यो आइफोन ८ र त्यसपछिका मोडेलहरूमा चल्नेछ ।
आईओएस १६ मा लक स्क्रिन तथा नोटिफिकेसन सिस्टममा आमूल सुधार गरिएको एप्पलले जनाएको छ । साथै सिस्टम एपहरूसमेत सुधार तथा पुनःडिजाइन गरिएको छ ।
आईओएस १६ को डेभलपर्स प्रिभ्यू यही हप्ता तथा बेटा भर्सन अर्को महिनादेखि उपलब्ध हुनेछ । आम आइफोन प्रयोगकर्ताका लागि आईओएस १६ आगामी सेप्टेम्बर सम्ममा उपलब्ध हुने बताइएको छ ।
आईओएस १६ को लकस्क्रिन फिचरमा मल्टी लेयर्ड कस्टमाइजेडन अप्सन उपलब्ध हुनेछ । यसमा प्रयोगकर्ताहरुले आफ्नो स्क्रिनमा विभिन्न वालपेपर तथा कलर फिल्टर कस्टमाइज गरेर छनोट गर्न सक्नेछन् ।
साथै लक्ड स्क्रिनमा क्यालेन्डर इभेन्ट्स, वर्कआउट स्टाटस थप गर्न पनि सकिनेछ । साथै लक स्क्रिनमा मौसमको लाइभ अवस्था देखाउने वेदर वालपेपर पनि राख्न सकिनेछ । त्यस्तै पृथ्वी, चन्द्रमा तथा सौर्य प्रणालीका दृश्यसहितका एस्ट्रोनोमी वालपेपर पनि राख्न सकिन्छ । त्यसैगरी प्रयोगकर्ताले अटोम्याटिक रुपमा लक स्क्रिन परिवर्तन गर्ने फोटो शफल मोड पनि रहनेछ ।
आईओएस १६ मा लक स्क्रिन नोटिफिकेसनमा पनि परिवर्तन भएको छ । लक्ड स्क्रिनको पिंधबाट नोटिफिकेसन स्क्रोल गर्नेछ, जसलाई प्रयोगकर्ताले एउटै हातले ट्याप गर्न सकिनेछ । साथै प्रयोगकर्ताले लक स्क्रनमै फोकस मोड एक्टिभेट गर्न सक्नेछन् ।
आईओएस १६ मेसेज, मेल, डिक्टेसन, लाइभ टेक्स, भिजुअल लुक अप, एप्पल वालेट, एप्पल म्याप, एप्पल न्यूज तथा फिटनेस र हेल्थलगायतका फिचर तथा एपहरूमा पनि विभिन्न परिवर्तन गरी परिस्कृत गरिएको एप्पलले जनाएको छ ।
एजेन्सी
साभारःअन्लाइनखबर
प्रतिक्रिया दिनुहोस्