२०८३ आश्विन ९
९८५७६५०३३४, ९८५७६५००९३

समाजसेवा र संस्कृति संरक्षणमा समर्पित सारदा गौचन सम्मानित

मुस्ताङ, असोज ८ । समाजसेवा, खेलकुद तथा मौलिक संस्कृति संरक्षणमा लामो समयदेखि सक्रिय थासाङ गाउँपालिका–५ कुञ्जोकी सारदा गौचन सम्मानित भएकी छन्। ५२औँ थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रमको समुद्घाटन समारोहमा थाक खेलकुद तथा सांस्कृतिक विकास संघ, मुस्ताङले गौचनलाई सम्मान गरेको हो।

थाक खेलकुद तथा सांस्कृतिक विकास संघको विभिन्न जिम्मेवारी सम्हाल्दै खेलकुदको विकास, संस्कृति संरक्षण र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै गौचनलाई सम्मान गरिएको संघले जनाएको छ। लेतेमा आयोजित समारोहमा उनलाई सम्मानपत्रसहित सम्मान गरिएको हो।

गौचन लामो समयसम्म नेपाल रेडक्रस सोसाइटी उपशाखा कुञ्जो, मुस्ताङको सभापतिको जिम्मेवारीमा रहेर मानवीय तथा सामाजिक सेवामा सक्रिय रहँदै आएकी छन्। विपद् तथा कठिन परिस्थितिमा समुदायका पक्षमा उभिँदै सामाजिक विकृति र विसंगति न्यूनीकरणका लागि समेत उनले निरन्तर आवाज उठाउँदै आएकी छन्।

थाक खेलकुद तथा सांस्कृतिक विकास संघको समिति तथा पदाधिकारीमा विभिन्न जिम्मेवारी सम्हालेकी गौचनले खेलकुदसँगै मुस्ताङको मौलिक कला, संस्कृति, परम्परा र सामाजिक एकताको संरक्षणमा योगदान पुर्‍याउँदै आएकी छन्। संघका गतिविधिमा सक्रिय सहभागिता जनाउँदै उनले संस्थागत विकासमा समेत भूमिका निर्वाह गरेकी छन्।

हिमालपारीको कठिन भूगोलमा जन्मिएर पनि सामाजिक सेवामा आफूलाई निरन्तर समर्पित गर्दै आएकी गौचन स्थानीय समुदायमा मिलनसार, सहयोगी, निडर र स्पष्ट वक्ताका रूपमा परिचित छन्। व्यक्तिगत सुख–सुविधाभन्दा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिने उनको स्वभाव र दुःखमा परेका समुदायको साथमा उभिने सक्रियताले उनलाई स्थानीयस्तरमा छुट्टै पहिचान दिलाएको छ।

समाजसेवा, खेलकुद र संस्कृति संरक्षणमा लामो समयदेखि पुर्‍याएको योगदानको सम्मानस्वरूप भएको यो सम्मानले समुदायका लागि निःस्वार्थ रूपमा काम गर्ने महिलाको भूमिकालाई समेत उजागर गरेको छ। गौचनले आगामी दिनमा पनि सामाजिक सेवा, खेलकुद विकास र मुस्ताङको मौलिक संस्कृति संरक्षणका क्षेत्रमा आफ्नो सक्रियता निरन्तर राख्ने प्रतिबद्धता जनाएकी छन्।

प्रतिक्रिया दिनुहोस्