मुस्ताङ । मुस्ताङकाे पर्यटकीय तथा धार्मिक यात्रालाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यका साथ नवगठित मार्फा यातायात सेवा प्रा.लि. र पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीबीच व्यावसायिक सहकार्य सुरु भएको छ।
मुस्ताङको जोमसोमस्थित पुथाङ विमानस्थलमा आयोजित एक विशेष समारोहका बीच दुवै संस्थाले संयुक्त रूपमा बस सेवाको औपचारिक शुभारम्भ गरेका हुन्। यो सहकार्यसँगै मुस्ताङ, पोखरा र काठमाडौँ आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटक एवं मुक्तिनाथका दर्शनार्थीहरूले नयाँ ढङ्गको आधुनिक र सुविधायुक्त सेवा प्राप्त गर्ने भएका छन्।

मार्फा यातायात सेवा प्रा.लि.की प्रबन्धक सुनदेवी रसाइलीका अनुसार नयाँ सहकार्यअन्तर्गत मुस्ताङ–काठमाडौँ रुटका लागि ९ वटा र मुस्ताङ–पोखरा रुटका लागि ५ वटा अत्याधुनिक एसी तथा डिलक्स बसहरू सञ्चालनमा ल्याइएका छन्। यसका साथै पृथ्वी राजमार्ग बस सञ्चालक समितिका सुविधासम्पन्न बसहरू समेत यो रुटमा जोडिएका छन्। लामो समयदेखि यस क्षेत्रमा कार्यरत यातायात व्यवसायीहरूकै प्रत्यक्ष संलग्नता रहेकाले यो सेवाले यात्रुहरूलाई केवल यात्रा मात्र गराउने छैन, बरु उच्च गुणस्तरीय र भरपर्दो सेवाको प्रत्याभूति पनि दिने प्रबन्धक रसाइलीले बताएकि छिन् ।
यात्राका क्रममा आउन सक्ने सम्भावित जटिलता र व्यवस्थापकीय चुनौती समाधानका लागि दुवै कम्पनीले व्यवस्थित कार्यविभाजन गरेका छन्। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रबन्धक कृष्णप्रसाद पौडेलका अनुसार मुस्ताङ क्षेत्रको व्यवस्थापन मार्फा यातायातले, काठमाडौँ क्षेत्रको व्यवस्थापन पृथ्वी यातायातले र पर्यटकीय नगरी पोखरामा दुवै कम्पनीले संयुक्त रूपमा समन्वय गर्नेछन्। यस किसिमको एकीकृत समन्वयले सेवा प्रवाहमा देखिने प्राविधिक तथा व्यावहारिक समस्याहरूलाई तत्काल समाधान गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।
सार्वजनिक गरिएको नयाँ कार्यतालिका अनुसार मुक्तिनाथबाट पोखराका लागि बिहान ९ बजे र काठमाडौँका लागि दिउँसो १:३० बजे बसहरू छुट्नेछन् भने जोमसोमबाट पोखराका लागि बिहान ७ र ११ बजे तथा काठमाडौँका लागि दिउँसो ३ बजे सेवा उपलब्ध हुनेछ। त्यसैगरी पोखराबाट बिहान ९ बजे र काठमाडौँबाट दैनिक साँझ ६ बजे सोझै मुक्तिनाथका लागि नियमित बसहरू सञ्चालन हुनेछन्। स्थानीय अग्रसरता र राष्ट्रिय सञ्जालको यो सहकार्यले हिमाली जिल्लाको यातायात पहुँचलाई सुदृढ बनाउँदै मुस्ताङको पर्यटन प्रवर्धनमा दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ।






प्रतिक्रिया दिनुहोस्