२०८३ भाद्र २९ मुस्ताङ । राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा ‘बालबालिकाको आवाज सुनौँ, प्रकृतिको संरक्षण गरौँ र समृद्ध नेपालको निर्माणमा योगदान गरौँ’ भन्ने मूल नारासहित मुस्ताङमा जिल्ला स्तरीय माध्यमिक विद्यालय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ।
एकीकृत सेवा कार्यालय, मुस्ताङको आयोजनामा तथा जिल्ला बाल सञ्जाल, मुस्ताङको समन्वयमा जोमसोममा आयोजित प्रतियोगितामा जिल्लाका १० वटा माध्यमिक विद्यालयका १९ जना विद्यार्थी सहभागी भएका थिए। विद्यार्थीहरूले कविता लेखन तथा वाचनमार्फत जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभाव, घट्दो हिमपात, वातावरणीय संकट, हिमाल तथा प्राकृतिक स्रोतको संरक्षण र भावी पुस्ताको सुरक्षित भविष्यका विषयलाई सिर्जनात्मक रूपमा प्रस्तुत गरेका थिए।

प्रतियोगितामा विद्यार्थीहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वातावरण संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग र जनचेतना अभिवृद्धि आवश्यक रहेको सन्देश दिएका थिए। विशेषगरी हिमाली जिल्ला मुस्ताङमा जलवायु परिवर्तनका कारण देखिँदै आएका वातावरणीय परिवर्तनलाई विद्यार्थीहरूले आफ्ना कविता र प्रस्तुतिमार्फत उजागर गरेका थिए।
प्रतियोगितामा श्री जननिर्मल माध्यमिक विद्यालय, छुसाङका वीरेन्द्र वि.क. प्रथम भएका छन्। उनले रु. ७ हजार पुरस्कार प्राप्त गरे। त्यसैगरी श्री जनआदर्श अमरसिंह माध्यमिक विद्यालय, कोबाङकी उषा अधिकारी द्वितीय भइन् भने श्री जनज्योति माध्यमिक विद्यालय, घिलिङकी ङवाङ ल्हामो गुरुङ तृतीय भइन्। द्वितीय हुने अधिकारीले रु. ५ हजार र तृतीय हुने गुरुङले रु. ३ हजार पुरस्कार प्राप्त गरे।
प्रतियोगिताले विद्यार्थीमा रहेको साहित्यिक प्रतिभा प्रस्फुटनसँगै जलवायु परिवर्तन, वातावरण संरक्षण र बालअधिकारका विषयमा उनीहरूको चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ। बालबालिकाले आफ्ना सिर्जनाका माध्यमबाट प्रकृति संरक्षण र जलवायु संकट न्यूनीकरणका लागि राज्य तथा समाजको ध्यानाकर्षणसमेत गराएका छन्।
कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीलाई आयोजकले बधाई तथा शुभकामना व्यक्त गर्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने निर्णायक मण्डल, शिक्षक, विद्यालय परिवार, जिल्ला बाल सञ्जाल, मुस्ताङ तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेको छ।





प्रतिक्रिया दिनुहोस्