२०८३ भदौ २९, मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा रहेर निरन्तर पत्रकारिता गर्दै आएका नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका सदस्य तथा राष्ट्रिय समाचार समिति (रासस)का मुस्ताङ संवाददाता सुन्दर कुमार थकालीलाई गालीगलौज सहित ज्यान मार्ने धम्की आएको भन्दै जिल्ला प्रहरी कार्यालय मुस्ताङमा उजुरी दर्ता गरिएको छ।
ई–मुस्ताङ न्युज डटकमका सञ्चालक समेत रहेका पत्रकार थकालीका अनुसार समाचार प्रकाशन तथा प्रसारणकै विषयलाई लिएर गत भदौ २८ गते सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत आफूलाई अपशब्द प्रयोग गर्दै गालीगलौज र ज्यान मार्ने धम्की दिइएको हो। धम्कीपछि आफ्नो व्यक्तिगत सुरक्षासँगै स्वतन्त्र र निर्भीक पत्रकारिता माथि समेत गम्भीर चुनौती उत्पन्न भएको भन्दै उनले दोषीमाथि कानुनबमोजिम तत्काल कारबाहीको माग गरेका छन्।
थकालीले छेतेन गुरुङको नाममा रहेको मोबाइल नम्बर ९८६७६९१५२९ बाट गालीगलौज तथा ज्यान मार्ने धम्की आएको दाबी गर्दै आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङमा उजुरी दिएका छन्। उजुरीमा धम्कीको प्रकृति, प्रयोग गरिएको सञ्चार माध्यम तथा घटनासँग सम्बन्धित विवरणको छानबिन गरी दोषी पहिचान गरेर प्रचलित कानुन अनुसार कडा कारबाही गर्न माग गरिएको छ।

उजुरी जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई कारबाहीका लागि सम्बोधन गरिएको छ भने जिल्ला प्रशासन कार्यालय मुस्ताङ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति तथा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई समेत घटनाबारे जानकारी गराउँदै आवश्यक पहल र कारबाहीका लागि अनुरोध गरिएको छ।
पत्रकारलाई समाचार लेखेकै कारण गालीगलौज, धम्की वा मानसिक दबाब दिने कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आधारभूत मान्यतामाथि प्रश्न उठाउने भएकाले घटनालाई गम्भीर रूपमा लिनुपर्ने पत्रकार महासंघका पदाधिकारीहरूले बताएका छन्। पत्रकारको सुरक्षा र स्वतन्त्र पत्रकारिताको वातावरण सुनिश्चित गर्नु राज्य तथा सम्बन्धित निकायको दायित्व भएको उनीहरूको भनाइ छ।

उजुरी दर्ता गराउन नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका संस्थापक अध्यक्ष भीमबहादुर रसाइली, शाखा अध्यक्ष सुनदेवी रसाइली, सचिव आदित्य रसाइली, कोषाध्यक्ष निरज थकाली, निवर्तमान सचिव सुशील थकाली, ई–मुस्ताङ न्युज डटकमका सञ्चालक तथा पत्रकार सुन्दर कुमार थकाली र मनीता थकाली जिल्ला प्रहरी कार्यालय पुगेका थिए।
टोलीले पत्रकार थकालीलाई धम्की दिने व्यक्तिमाथि तत्काल छानबिन गरी कडा कानुनी कारबाही गर्न प्रहरीसमक्ष माग गरेको छ। सम्बन्धित सरोकारवाला निकायहरूले घटनालाई गम्भीरतापूर्वक लिँदै आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियामा अघि बढ्ने प्रतिबद्धता जनाएको बताइएको छ।
पत्रकारलाई समाचारकै विषयमा लक्षित गरी धम्की दिने घटना बढ्दै गएमा यसले नागरिकको सूचनाको अधिकार, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासमै असर पार्न सक्ने भएकाले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही हुनुपर्ने पत्रकार महासंघको माग छ।






प्रतिक्रिया दिनुहोस्