२०८२ मंसिर १२
९८५७६५०३३४, ९८५७६५००९३

घरपझोङ गाउँपालिकाले सुरु गर्‍यो नमुना युवा संसद अभ्यास कार्यक्रम

 

मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा नमुना युवा संसद अभ्यास सम्बन्धी ४ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । गण्डकी प्रदेश सभाका सांसद विकल शेरचनले उद्घाटन गरे सँगै नमुना युवा संसद अभ्यास सम्बन्धी ४ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा शिक्षा ,युवा तथा खेलकुद शाखा घरपझोङ गाउँपालिकाको आयोजनामा नमुना युवा संसद अभ्यास सम्बन्धी ४ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख हिमलाल शर्माले जानकारी दिए । उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाका सांसद विकल शेरचनले कार्यक्रमले युवाहरुलाई सामाजिक राजनीतिक र आर्थिक रुपले थप उर्जाशील र गतिशील बन्न प्रेरित गर्ने बताए ।‘उनले भने, ‘यो कार्यक्रमबाट मुलुक सञ्चालन सम्बन्धी जानकारी हुन्छ, चार दिनमा त्यो अभ्यास गरिन्छ ।’ देश विकास र समृद्धिमा युवा मेरुदण्ड भएको उल्लेख गर्दै गण्डकी प्रदेश सभाका सांसद शेरचनले सबै क्षेत्रमा सहकार्य र समन्वय आवश्यक हुने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले युवाहरुको सक्रिय सहभागितामा प्रतिभाको प्रस्फुटन हुनुका साथै नेतृत्व क्षमताको विकास साथै स्थानीय सरकार संञ्चालनको विधि कार्यक्रमलाई सफल बनाउन नमुना युवा संसद अभ्यास कार्यक्रम महत्वपूर्ण रहेको बताए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले युवाहरु सही बाटोमा लाग्न र समाज हुने बिभिन्न खाले गतिबिधिहरुमा चनाखो भई आफनो क्षमता बिकासमा लाग्न यस्ता खाले कार्यक्रमले सहयोग पुग्ने बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले समृद्ध राष्ट्र निर्माणको आधार स्तम्भको रुपमा रहेका युवा वर्गको नेतृत्व तथा क्षमता विकास गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

गाउँपालिकाका सबै वडामा गठन भएका युवाक्लवका ३१ जनासदस्यहरु सहभागि रहेको नमुना संसदको अभ्यासका लागि युवा परिषद्ले कार्यक्रम सञ्चालन गर्दै आएको बताइएको छ । यसका लागि जिल्लाको घरपझोङ गाउँपालिका छनोटमा परेको बताइएको छ । उदघाटन कार्यक्रममा घरपझोङ गाउँपालिकाकी उपाअध्यक्ष जमुना थापा मगर, गाउँपालिकाका बिषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।कार्यक्रम गाउँपालिका अध्यक्ष मोहन सिंह लालचनको अध्यक्षता र अभिनास कार्की र सुरक्षा पहरीले सहजीकरण गर्ने शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्