२०८३ असोज ३ जोमसोम, मुस्ताङ ।घरपझोङ गाउँपालिकाले आयोजना गरेको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३’ सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकाय, विकास साझेदार, सुरक्षा निकाय, सञ्चारकर्मी, स्थानीय समुदाय तथा विभिन्न संघसंस्थाप्रति गाउँपालिकाले हार्दिक आभार व्यक्त गरेको छ।
हिमालको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसमा जोड्ने कार्यमा गाउँपालिकाले भदौ ३० र ३१ गते आयोजना गरेको सम्मेलनमा नेपालका ७५३ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्ष तथा ७७ जिल्ला समन्वय समितिका प्रमुखहरूलाई आमन्त्रण गरिएको थियो। सम्मेलनमा जलवायु परिवर्तन, वातावरण संरक्षण, विकास र हिमाली क्षेत्रका चुनौतीलगायत विषयमा बहस तथा छलफल भएको गाउँपालिकाले जनाएको छ।
सम्मेलन सफल बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा वन मन्त्रालय, गण्डकी प्रदेश सरकार, सबै महानगरपालिका तथा उपमहानगरपालिका, मुस्ताङका चारवटै स्थानीय तहलगायत सरकारी तथा स्थानीय निकायको महत्वपूर्ण सहयोग रहेको गाउँपालिकाको भनाइ छ।
त्यसैगरी अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD), विश्व वन्यजन्तु कोष (WWF), राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC), अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP), संरक्षण क्षेत्र व्यवस्थापन समिति लगायतका संस्थाको सहभागिता र सहकार्यले सम्मेलनलाई थप प्रभावकारी बनाउन योगदान पुगेको गाउँपालिकाले जनाएको छ।
सम्मेलनमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, संरक्षणकर्मी, वातावरणविद्, विकासविद्, बुद्धिजीवी, कार्यालय प्रमुख, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र मुस्ताङका क्रियाशील स्थानीय पत्रकारहरूको सहभागिता र सहयोग रहेको थियो। सम्मेलनको उद्घाटन तथा समापन कार्यक्रमको व्यवस्थापनमा वरिष्ठ पत्रकार दिपेन्द्र श्रेष्ठ तथा सहजीकरणमा सम्बन्धित सरोकारवालाको योगदान महत्वपूर्ण रहेको गाउँपालिकाले उल्लेख गर्दै धन्यवाद दिएको छ।
गाउँपालिकाले सम्मेलनलाई सफल बनाउन जिल्ला समन्वय समिति महासंघ , नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ तथा सातवटै प्रदेशका प्रतिनिधि र पदाधिकारी, सम्मेलन मूल व्यवस्थापन समितिका संयोजक तथा सदस्यहरू, विभिन्न उपसमितिका संयोजक–सदस्य, जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीहरूले निरन्तर खटिएर पुर्याएको योगदानको पनि प्रशंसा गरेको छ।
त्यस्तै सम्मेलनमा सहभागी महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधिहरूको सक्रिय सहभागिता, समर्पण र सहकार्यले जलवायु परिवर्तनसम्बन्धी साझा राष्ट्रिय बहसलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको गाउँपालिकाले जनाएको छ।
जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा तीव्र रूपमा देखापर्दै गएको अवस्थामा मुस्ताङबाट आयोजना गरिएको सम्मेलनले हिमाल, पहाड र तराईबीच जलवायुजन्य जोखिम, अनुकूलन, वातावरण संरक्षण र दिगो विकासका विषयमा साझा संवादको आधार तयार गर्ने प्रयास गरेको देखिन्छ।
विशेषगरी हिमाली जिल्लामा घट्दो हिमपात, बदलिँदो वर्षाको ढाँचा, पानीका स्रोतमा देखिन थालेको परिवर्तन, कृषि तथा पर्यटन क्षेत्रमा परेको असर र प्राकृतिक विपद्को जोखिमजस्ता विषयलाई राष्ट्रिय नीतिसँग जोड्न सम्मेलन महत्वपूर्ण मञ्च बनेको गाउँपालिकाको भनाइ छ।
घरपझोङ गाउँपालिकाले सम्मेलनलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने स्थानीय समुदाय, सुरक्षा निकाय, स्वयंसेवक, आमा तथा महिला समूह, युवा क्लब, व्यवसायी, निर्माण व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति विशेष धन्यवाद व्यक्त गरेको छ।
गाउँपालिकाले सम्मेलनलाई एउटा कार्यक्रमका रूपमा मात्र नभई जलवायु परिवर्तनका चुनौती सामना गर्न स्थानीयदेखि राष्ट्रिय तहसम्म सहकार्य र साझा प्रतिबद्धता निर्माण गर्ने अभियानका रूपमा अघि बढाउने संकेत गरेको छ।



प्रतिक्रिया दिनुहोस्