२०८३ भाद्र १४
९८५७६५०३३४, ९८५७६५००९३

भोटेकोशी बाढीपीडितका लागि पुथाङ एयरपोर्ट गाउँ समाज र पुथाङ आमा समूहले ५ लाख ५१ हजार दिने निर्णय

मुस्ताङ, भदौ १३ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्ताङको पुथाङ एयरपोर्ट गाउँ समाजले ३ लाख ५१ हजार र पुथाङ आमा समूहले २ लाख गरी जम्मा ५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

घरपझोङ गाउँपालिका ३, पुथाङ बजार जोमसोम एयरपोर्ट स्थित पुथाङ एयरपोर्ट गाउँ समाज र पुथाङ आमा समूहले आफ्नो समाजको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। बाढीका कारण प्रभावित परिवारले तत्काल राहत, खाद्यान्न, अस्थायी आवास, स्वास्थ्य उपचार तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक परिरहेको अवस्थामा समाजले सामुदायिक कोषबाट रकम प्रदान गर्ने निर्णय गरेको पुथाङ आमा समूकी अध्यक्ष लक्ष्मी बानीयाले बताएकी छिन् ।

समाजका गाउँ प्रमुख अनिल शेरचन गाउँ समिति र पुथाङ आमा समूहको अध्यक्ष लक्ष्मी बानीया र समिति बिचको संयुक्त अध्यक्षतामा शनिबार बिहान पुथाङ एयरपोर्ट गाउँ समाज भवनमा बसेको कार्यसमिति बैठकले भोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयोग गर्ने औपचारिक निर्णय गरेको समाजका सचिव पेमा छेतेन विकले जानकारी दिएका छन् ।

पुथाङ आमा समूहकी सचिव दुर्गा देवी रसाइली र कोषाध्यक्ष दीप्ता शेरचनको अनुसार आमा समूह र बा समूहको बैठकले ५ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री बाढीपीडित राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । रकम तत्काल सम्बन्धित राहत कोषमा पठाइने र सहयोग रकम जम्मा गरिएको प्रमाण तथा विवरण सार्वजनिक गरिने संयुक्त समितिले बताएको छ ।

भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको, धेरै परिवार विस्थापित भएको तथा कतिपय नागरिकको अवस्था अझै अज्ञात रहेको पुथाङ एयरपोर्ट गाउँ समाजका बासीहरूलाई गम्भीर र दुखित बनाएको पुथाङ आमा समूहकी उपाध्यक्ष सोनी लालचनले बताएकी छन्। साथै पूर्व पुथाङ आमा समूहकी अध्यक्ष प्रमीला गौचनको भनाई अनुसार विपद्को समयमा पीडित परिवारलाई राहत उपलब्ध गराउनु राज्यले मात्र होइनकी हामी सबैको कर्तव्य हो । त्यसैगरी बाढीपीडितहरूलाई हरेक नागरिक, समुदाय र संघ संस्थाको साझा सहयोगको आवश्यकता पर्छ समाजसेवी रूबिन्द्र गौचनले बताएका छन् ।

“भोटेकोशीमा भएको क्षति अत्यन्तै पीडादायी छ। बाढीका कारण धेरै परिवारले आफन्त, घर तथा जीविकोपार्जनका साधन गुमाएका छन्,” समाजका सदस्य अनुज गौचनले जानकारी गराए ।यस्तो राष्ट्रिय संकटको समयमा सबै नेपाली एकताबद्ध भएर उद्धार, राहत र पुनःस्थापनाका काममा सहयोग गर्न आवश्यक रहेको पुथाङ एयरपोर्ट गाउँ समाज र पुथाङ आमा समूहको साझा धारणा रहेको अम्ची तथा पूर्व गाउँ सचिव छेवाङ घ्युर्मे गुरूङले बताए ।

पुथाङ एयरपोर्ट गाउँ बासीहरूले राहत वितरणमा पारदर्शिता, वास्तविक पीडितको पहिचान र प्रभावित क्षेत्रको आवश्यकता अनुसार सहयोग परिचालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।तत्कालीन राहतसँगै बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, खानेपानी तथा सञ्चार संरचनाको पुनर्निर्माणमा समेत सरकारले प्राथमिकता दिनुपर्ने पूर्व गाउँ प्रमुख शेर बहादुर गुरूङको भनाइ छ।

पुथाङ एयरपोर्ट गाउँ समाज र पुथाङ आमा समूह मुस्ताङले सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिमा सक्रिय मानिन्छ। आमा समूह र गाउँ समाजले यसअघि पनि कागबेनीमा गएको बाढीमा ठुलो रकम सहयोग गरेको थियो । साथै विभिन्न सामाजिक कार्य, विपद् व्यवस्थापन, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा आमा समूह र गाउँ समाजले सहयोग गर्दै आएको कुरा पूर्व गण्डकी प्रदेश सभा सदस्य चन्द्र मोहन गौचनले बताए ।

दुबै समितिको अनुसार सामुदायिक कोषबाट प्रदान गरिने सहयोगले भोटेकोशी बाढीबाट प्रभावित परिवारको तत्कालीन राहतमा केही योगदान पुग्ने अपेक्षा गरिएको छ। समाजले अन्य स्थानीय तह, संघसंस्था, निजी क्षेत्र तथा नागरिकलाई समेत विपद् प्रभावित नागरिकको सहयोगमा अघि बढ्न अपिल गरेको छ।

भोटेकोशी क्षेत्रमा आएको बाढीपछि उद्धार तथा राहतका लागि सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय समुदाय र विभिन्न सामाजिक संघसंस्था परिचालित भइरहेका छन्। प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा, अस्थायी आवास तथा पुनःस्थापनाका कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तह र केन्द्र सरकारबीच समन्वय आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

पुथाङ एयरपोर्ट गाउँ समाज र पुथाङ आमा समूहले विपद्को समयमा आफ्नो समाजको कोषबाट सहयोग गर्ने निर्णयले सामाजिक उत्तरदायित्व र सामुदायिक एकताको उदाहरण प्रस्तुत गरेको जनाएको छ। दुबै समितिले आगामी दिनमा पनि प्रभावित परिवारको अवस्था र आवश्यकताका आधारमा थप सहयोग तथा सहकार्यका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्