२०८१ आश्विन १९
९८५७६५०३३४, ९८५७६५००९३

पोखराका यूवाहरुलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका बारेमा अभिमुखिकरण

भदौ २५, पोखरा । पोखराका युवाहरुलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको लैङ्गिक पहिचान, यौन विशेषता र उनीहरुले भोग्नुपरेको विभेदका बारेमा अभिमुखिकरण गरिएको छ ।

नौलो विहानी पोखराको आयोजनामा मंगलवार सम्पन्न अभिमुखिकरण कार्यक्रममा पोखराका विभिन्न संघसंस्था तथा क्याम्पसहरुमा अध्ययनरत २० जना युवाहरुको उपस्थिति रहेको थियो ।

अभिमुखिकरण कार्यक्रममा नौलो विहानी पोखराकी कार्यलय प्रमुख तथा संस्थापक अध्यक्ष रजनी थकाली र नौलो विहानी पोखराका प्रोग्राम कोअर्डिनेटर सुनिल भुजेलले सहजीकरण गरेका थिए ।

अभिमुखिकरण कार्यक्रममा यौनिक तथा लैङ्गिक समुदायका ट्रान्सजेण्डर महिला र पुरुषले प्रयोग गर्ने हर्मोन र त्यसको पहुँचबारे सहभागीहरुले जिज्ञासा राखेका थिए । जसको जवाफमा कार्यलय प्रमुख थकालीले नेपालमा यसबारेमा सरकारले कुनैपनि निति नियम नबनाएको र परामर्शदाताहरु पनि नभएकाले ट्रान्सजेण्डर व्यक्तिहरु परामर्शबिना हर्मोन किनेर खानुपर्ने बाध्यता रहेको बताईन् । जथाभावी हर्मोन खाँदा स्वास्थ्यमा विभिन्न समस्याहरु पनि देखा पर्ने गरेकोले संघीय सरकारले नै यसबारेमा सोच्नुपर्ने बताईन् ।

चिकित्सकको सिफारिश विनै आफूखुशी हर्मोन किनेर खाँदा यस समुदायका महिला तथा पुरुषहरुमा सामान्य स्वास्थ्य समस्यादेखि जटिल र दिर्घ रोगहरुको क्यान्सर, मस्तिष्कघात, मानसिक रोगदेखि ज्यानै जानेसम्मको जोखिम बढेको छ ।

समाजमा महिला र पुरुष मात्र नभई त्यसबाहेकको लैंगिक पहिचान पनि हुने विषय नेपाली समाजमा चर्चा हुन थालेको दशकौँ भईसक्दापनि यो समुदायका व्यक्तिहरुले सामाजिक, प्रशासनिक र अन्य क्षेत्रमा भोग्नुपरेको विभेदबारे पनि परिचर्चा गरिएको थियो । अभिमुखिकरण कार्यक्रमममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुका विषयमा हालसम्म भएका प्रमुख उपलब्धि तथा चुनौतीहरुका विषयमा चर्चा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्